शपथलगत्तै कांग्रेसको नयाँ केन्द्रीय समितिको पहिलो बैठक बस्दै, चार सदस्यको शपथ रोकिँदै

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिको शपथ ग्रहण र पदबहालीलगत्तै केन्द्रीय समितिको पहिलो बैठक बस्ने भएको छ। नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथ ग्रहण आज दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा हुँदैछ।
शपथपछि बस्ने बैठकले समसामयिक राजनीतिक विषयमा छलफल गर्नेछ। सहमहामन्त्री प्रकाश रसाइली ‘स्नेही’का अनुसार आजको बैठकमा सभापतिले समसामयिक विषयमा ‘ब्रिफिङ’ गर्नेछन्। बैठक अन्य एजेन्डामा प्रवेश नगर्ने उनले बताए।
उनका अनुसार महाधिवेशन सम्पन्न गराउन सहयोग गर्ने महाधिवेशन प्रतिनिधि, निर्वाचन समिति, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा पार्टी पंक्तिलाई धन्यवाद ज्ञापन गर्ने विषयमा भने बैठकले निर्णय गर्नेछ।
कांग्रेसको विधानअनुसार सभापतिले चार सहमहामन्त्री, कोषाध्यक्ष, प्रवक्ता, सहप्रवक्ता र ६६ केन्द्रीय सदस्य मनोनयन गर्न पाउने व्यवस्था छ। तर, पहिलो बैठकबाट मनोनयनसम्बन्धी निर्णय नहुने सहमहामन्त्री रसाइलीले बताए।
यसैबीच, अदालतमा मुद्दा विचाराधीन रहेकाले चार नवनिर्वाचित केन्द्रीय सदस्यको शपथ रोक्ने तयारी गरिएको छ। सन्तोष चालिसे, विनीता खड्का, मोहन बस्नेत र उमेशचन्द्र यादवले आज शपथ लिन नपाउने भएका हुन्।
खड्का केन्द्रीय सदस्यमा विजयी भए पनि निर्वाचन समितिले उनलाई निर्वाचित भएको औपचारिक घोषणा गरेको छैन। एक पदाधिकारीका अनुसार सम्बन्धित सदस्यविरुद्ध अदालतमा मुद्दा विचाराधीन रहेकाले तत्काल शपथ रोक्ने निर्णय गरिएको हो। अदालतबाट सफाइ पाएपछि उनीहरूले जिम्मेवारी पाउने बताइएको छ।
यसैबीच, केन्द्रीय सदस्यका उम्मेदवार सौगात थापाले ३५ वर्षमुनिको क्लस्टरबाट निर्वाचित सुशील भट्टको शपथसमेत रोक्न माग गरेका छन्। भट्टको उमेर ३६ वर्ष पुगेको दाबी गर्दै थापाले बुधबार निर्वाचन आयोगमा उजुरी दिएका छन्। उजुरीमाथि निर्णय हुन बाँकी रहेकाले भट्टको शपथबारे पनि अन्योल देखिएको छ।





प्रतिकृया दिनुहोस्