October 29, 2026, Thursday
२०८३ कार्तिक १३

एनपीएलमा आज जनकपुर-काठमाडौं र विराटनगर-कर्णाली भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदैछन्। पहिलो खेलमा साविक विजेता जनकपुर बोल्ट्सले काठमाण्डू गोर्खाजसँग प्रतिस्पर्धा गर्दा दोस्रो खेलमा विराटनगर किंग्स र कर्णाली याक्स आमनेसामने हुँदैछन्।

जनकपुर बोल्ट्स पहिलो जितको खोजीमा छ। प्रतियोगिताको पहिलो संस्करणको विजेता जनकपुरले आफ्नो पहिलो खेलमा कर्णाली याक्ससँग १९ रनको हार व्यहोरेको थियो। त्यसैले काठमाण्डूसँगको खेल जित्दै जनकपुर प्रतियोगितामा जितको खाता खोल्ने लक्ष्यमा हुनेछ।

काठमाण्डू गोर्खाज भने यस सिजनको पहिलो खेल खेल्दैछ। गत संस्करण लिग चरणमा १० अंकसहित तेस्रो स्थानमा रहेको काठमाण्डू इलिमिनेटरसम्म पुगेको थियो। इलिमिनेटरमा साविक उपविजेता लुम्बिनी लायन्ससँग चार विकेटले पराजित भएपछि उसको यात्रा रोकिएको थियो।

जनकपुर र काठमाण्डूबीचको खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मध्याह्न १२ः३० बजे सुरु हुनेछ।

आजै हुने दोस्रो खेलमा विराटनगर किंग्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ। कर्णाली लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा मैदान उत्रिँदा विराटनगर पहिलो जितको खोजीमा हुनेछ।

कर्णालीले पहिलो खेलमा जनकपुरलाई १९ रनले पराजित गर्दै विजयी सुरुआत गरेको थियो। विराटनगर भने आफ्नो पहिलो खेलमा चितवन राइनोजसँग आठ रनले पराजित भएको थियो।

विराटनगर र कर्णालीबीचको खेल सोही मैदानमा नेपाली समयअनुसार साँझ ५ बजे सुरु हुनेछ।