आजदेखि कांग्रेसको नयाँ कार्यसमितिले सम्हाल्दैछ पार्टीको जिम्मेवारी

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि औपचारिक रूपमा पार्टीको नेतृत्व सम्हाल्दैछ। ललितपुरको सानेपास्थित बीपी स्मृति भवनमा हुने विशेष समारोहमा नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले शपथ लिएसँगै जिम्मेवारी सम्हाल्नेछन्।
दिउँसो २ बजे हुने समारोहमा सभापतिबाहेक सबै पदाधिकारी तथा केन्द्रीय सदस्यले पद तथा गोपनीयताको शपथ लिनेछन्। सभापति गगनकुमार थापाले भने असोज ३१ गते दसैँको फूलपातीका दिन नै शपथ लिइसकेका छन्। शपथसँगै नवनिर्वाचित नेताहरूलाई प्रमाणपत्र वितरण गरी पदबहालीसमेत गराउने तयारी छ।
केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव अधिवक्ता राजु कटुवालका अनुसार यसपटक शपथ ग्रहण कार्यक्रम विगतको भन्दा फरक ढाँचामा हुनेछ। शपथ, प्रमाणपत्र वितरण र पदबहालीको प्रक्रिया एउटै समारोहबाट सम्पन्न गरिनेछ।
असोज १८ देखि २३ गतेसम्म काठमाडौंमा सम्पन्न १५औँ महाधिवेशनको निर्वाचनको अन्तिम परिणाम असोज ३० गते औपचारिक रूपमा सार्वजनिक गरिएको थियो। मतदान असोज २३ गते भएको थियो। सोही राति राष्ट्रिय सभागृहमा सभापतिको मतगणना सुरु भएकोमा परिणाम भोलिपल्ट बिहान सार्वजनिक गरिएको थियो।
अन्य पदको मतगणना भने असोज २४ गते रातिदेखि सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा गरिएको थियो। निर्वाचन समितिका अनुसार यसपटक ७ हजार ३ सय ९२ मतदाताको करिब १ लाख ६२ हजार मतपत्र एक सातामै गणना गरिएको थियो। १४औँ महाधिवेशनमा करिब ४ हजार ७ सय मतदाताको मतगणना गर्न १२ दिन लागेको थियो।
महाधिवेशनबाट गगन थापा ९४ प्रतिशत मतसहित सभापतिमा निर्वाचित भएका छन्। वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा, खुला उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य, महिला उपसभापतिमा पुष्पा भुसाल तथा समावेशी उपसभापतिमा विनोद चौधरी निर्वाचित भएका छन्। महामन्त्रीमा प्रदीप पौडेल, उदयशमशेर जबरा र डिला संग्रौला निर्वाचित भएका छन्।
शपथ र पदबहालीपछि नयाँ केन्द्रीय कार्यसमितिको पहिलो बैठक पनि आजै सानेपामा बस्ने तयारी छ। पहिलो बैठकले १५औँ महाधिवेशन सम्पन्न गर्न सहयोग गर्ने महाधिवेशन प्रतिनिधि, निर्वाचन समिति, सुरक्षाकर्मी, सञ्चारकर्मी तथा पार्टी पंक्तिलाई धन्यवाद दिनेछ। साथै प्रदेश तथा जिल्ला अधिवेशनको तयारी र कांग्रेसको आगामी राजनीतिक तथा सांगठनिक कार्यदिशाबारे पनि छलफल हुने नेताहरूले बताएका छन्।



प्रतिकृया दिनुहोस्