October 29, 2026, Thursday
२०८३ कार्तिक १३

कैलालीमा लागुऔषधसहित एकैदिन आठ जना पक्राउ

धनगढी । कैलालीमा प्रहरीले लागुऔषधसहित एकैदिन आठ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार धनगढी र भजनीका विभिन्न स्थानबाट बुधबार उनीहरू पक्राउ परेका हुन्।

भजनी नगरपालिका–३ मरियाघाटबाट ७२० मिलिग्राम ब्राउनसुगरसहित टीकापुर नगरपालिका–३ का १९ वर्षीय सुमित सुनार र २० वर्षीय अभिषेक विक पक्राउ परेका छन्। उनीहरूलाई भारतबाट नेपालतर्फ मोटरसाइकलमा आउँदै गर्दा चेकजाँचका क्रममा पक्राउ गरिएको प्रहरीले जनाएको छ।

यस्तै, भजनी नगरपालिका–५ पगियापसारबाट १ ग्राम ११० मिलिग्राम लागुऔषधसहित २१ वर्षीय दीपक बुढा र १७ वर्षीय किशोर पक्राउ परेका छन्। उनीहरूलाई बुधबार साँझ मोटरसाइकलमा सवार रहेका बेला चेकजाँच गर्ने क्रममा पक्राउ गरिएको हो।

यसैगरी, धनगढी उपमहानगरपालिका–८ बुद्धचोकबाट ४४० मिलिग्राम ब्राउनसुगरसहित थप चार जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा जोशीपुर गाउँपालिका–१ का २९ वर्षीय नराज चौधरी, २१ वर्षीय अनुप चौधरी, १८ वर्षीय किशोर र जोशीपुर–३ का २२ वर्षीय प्रेम चौधरी रहेका छन्।

प्रहरीका अनुसार पक्राउ परेकाहरूलाई नियन्त्रणमा राखी लागुऔषधको स्रोत तथा कारोबारसम्बन्धी विषयमा थप अनुसन्धान भइरहेको छ।