October 25, 2026, Sunday
२०८३ कार्तिक ९

कैलालीमा मोबाइल र मोटरसाइकल चोरी आरोपमा पाँच जना पक्राउ

धनगढी । कैलाली प्रहरीले मोबाइल तथा मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा पाँच जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूको साथबाट चोरीका मोबाइल र मोटरसाइकल बरामद गरेको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाका अनुसार टीकापुर क्षेत्रमा विभिन्न व्यक्तिका मोबाइल चोरीमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा टीकापुर नगरपालिका–१, एकतानगरका २४ वर्षीय अमित तिमिल्सिना र धिरेन्द्र शाही रहेका छन्। उनीहरूको साथबाट विभिन्न कम्पनीका ५ थान मोबाइल बरामद गरिएको प्रहरीले जनाएको छ।

यस्तै, टीकापुरमै मोटरसाइकल चोरी गरेको आरोपमा थप तीन जना पक्राउ परेका छन्। टीकापुर नगरपालिका–१, एकतानगर बस्ने धनबहादुर साउँदको घरअगाडि पार्किङ गरी राखिएको भारतीय नम्बर प्लेटको गाडी नम्बर UP06-BN 29680 को मोटरसाइकल चोरी भएको थियो।

घटनापछि प्रहरीले खोजतलास गर्ने क्रममा मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा टीकापुर नगरपालिका–१ नयाँ टीकापुरका २० वर्षीय आकाश बिष्ट, एकतानगरका २४ वर्षीय भीम बराल र २४ वर्षीय नरेश रावललाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार चोरी गरिएको मोटरसाइकल लुकाइछिपाइ राखेको अवस्थामा फेला परेको थियो।

पक्राउ परेका पाँचै जनामाथि कैलाली जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।