October 16, 2026, Friday
२०८३ आश्विन ३०

खगेन्द्र सुनार प्रकरण : छानबिन तीव्र, रास्वपाले जनआस्थाबाट लियो सक्कल अडियो र ८० पृष्ठको बैंक स्टेटमेन्ट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारसँग जोडिएको विवादित अडियो प्रकरणमा पार्टीको छानबिन तीव्र भएको छ। रास्वपाको अनुशासन आयोगको टोलीले जनआस्था साप्ताहिकको कार्यालयबाट विवादित अडियोको सक्कल प्रति र सुनारसँग सम्बन्धित ८० पृष्ठको बैंक स्टेटमेन्टसमेत लिएर गएको छ।

जनआस्था साप्ताहिकले पहिलोपटक सार्वजनिक गरेको अडियोमा सुनार र एक महिलाबीचको फोन संवाद रहेको बताइएको छ। उक्त संवादमा महिलामाथि अश्लील गालीगलौज तथा धम्की दिइएको सुनिन्छ। तर, सुनारले भने उक्त अडियो आफ्नो नभएको दाबी गर्दै एआई वा क्यारिकेचर प्रविधिबाट बनाइएको हुनसक्ने बताएका छन्।

प्रकरणमा छानबिन गर्न रास्वपाले आफ्नै अनुशासन आयोगलाई जिम्मेवारी दिएको छ। आयोगका प्रमुख लेखनाथ पौडेलसहित तीन सदस्यीय टोली आज जनआस्था कार्यालय पुगेको थियो।

जनआस्थाका प्रधानसम्पादक किशोर श्रेष्ठका अनुसार आयोगको टोलीलाई कार्यालयमा रहेका अडियोसहितका प्रमाणहरू हस्तान्तरण गरिएको छ।

‘हामीले आफूसँग रहेका सबै प्रमाणहरू उहाँहरूलाई सुम्पिएका छौँ। उहाँहरूले निष्पक्ष छानबिन हुने प्रतिबद्धता जनाउनुभएको छ,’ श्रेष्ठले भने।

छलफलका क्रममा रास्वपाका पदाधिकारीहरूले अडियो सुनारकै भएको विषयमा आफूहरू व्यक्तिगत रूपमा आश्वस्त रहेको बताएका थिए। यद्यपि, कारबाही अघि बढाउन प्रक्रियागत रूपमा प्रमाण परीक्षण र छानबिन आवश्यक रहेको उनीहरूको भनाइ थियो।

जनआस्थाले सुनारसँग सम्बन्धित ८० पृष्ठको बैंक स्टेटमेन्टसमेत रास्वपा टोलीलाई उपलब्ध गराएको जनाएको छ। प्रधानसम्पादक श्रेष्ठका अनुसार सुनारका नाममा आठवटा बैंकमा खाता भेटिएको र ती खातामा भएका कारोबारमाथि प्रश्न उठेको छ।

यसैबीच सञ्चारमन्त्री डा. विक्रम तिमल्सिनाले सुनारको अडियो प्रकरणलाई सरकारले दबाउन खोजेको भन्ने आरोप अस्वीकार गरेका छन्।

मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीले राखेको प्रश्नको जवाफ दिँदै सञ्चारमन्त्री तिमल्सिनाले आवश्यक परे अनुसन्धान गरी विषयलाई विधिसम्मत रूपमा टुंग्याइने बताए।

‘सरकारले कुनै मुद्दा दबाउन खोजेको छैन। आवश्यक पर्दा अनुसन्धान गरेर विधिवत् रूपमा टुङ्ग्याउँछ। सरकारले मुद्दालाई दबाउने कुनै नियत छैन। त्यस्तो हुनु हुँदैन,’ उनले भने।

उनले सम्बन्धित विषयमा सरकार प्रचलित प्रक्रियाअनुसार नै अघि बढ्ने स्पष्ट पारे।