सर्वदलीय बैठकमा कांग्रेस-राप्रपा गएनन्, सभामुखले बैठक अनिश्चितकालका लागि स्थगित गरे

धनगढी । सुदूरपश्चिम प्रदेशसभाका सभामुख भीमबहादुर भण्डारीले बोलाएको सर्वदलीय बैठक स्थगित भएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सहभागी नभएपछि सभामुख भण्डारीले बैठक अनिश्चितकालका लागि स्थगित गरेका हुन्।
सभामुख भण्डारीले शुक्रबार बिहान ११ बजेका लागि सर्वदलीय बैठक बोलाएका थिए। चालु आर्थिक वर्षको बजेट सिंगो प्रतिपक्षी दलको अनुपस्थितिमा पारित गरिएको भन्दै कांग्रेस र राप्रपाले सभामुखले बोलाउने कुनै पनि बैठकमा सहभागी नहुने अडान लिएका थिए।
सोही अडानअनुसार कांग्रेस संसदीय दल बैठकमा सहभागी भएन। राप्रपाले पनि बैठक बहिष्कार गरेको छ।
सभामुख भण्डारीले पूरक बजेटका लागि संसदीय अध्ययन समिति गठन, बजेट कार्यान्वयनलगायत समसामयिक विषयमा दलहरूबीच सहमति जुटाउने उद्देश्यले सर्वदलीय बैठक बोलाएका थिए। तर प्रतिपक्षी दलहरू सहभागी नभएपछि बैठक निष्कर्षविहीन बनेको हो।
बजेट पारित गर्ने प्रक्रियालाई लिएर सत्तापक्ष र प्रतिपक्षबीच विवाद बढिरहेका बेला सर्वदलीय बैठकसमेत बस्न नसकेपछि प्रदेशसभाको आगामी कार्यसूची र बजेट कार्यान्वयनमा थप राजनीतिक जटिलता देखिएको छ।





प्रतिकृया दिनुहोस्