पत्रकार जोशीसहित कोहलपुरमा चार साहित्यकार पुरस्कृत

कोहलपुर । हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठान, कोहलपुर बाँकेले चार जना साहित्यकारलाई जनही २० हजार रुपैयाँ नगदसहित पुरस्कृत गरेको छ।
शनिबार कोहलपुरमा आयोजित विशेष साहित्यिक समारोहमा नेपालगन्जका मुस्तफा अहसन कुरेसी, प्युठानका विजयराज आचार्य, धनगढीका युवा साहित्यकार तथा पत्रकार पुष्पराज जोशी ‘पुकार’ र बर्दियाकी साहित्यकार निरञ्जना चन्द ‘निरु’ पुरस्कृत भएका हुन्।
प्रतिष्ठानले कुरेसीलाई ‘कर्मयोगी बद्रीविक्रम पूर्णिमा वाङ्मय पुरस्कार २०८२’, आचार्यलाई ‘कर्मयोगी बद्रीविक्रम पूर्णिमा वाङ्मय पुरस्कार २०८३’, जोशीलाई ‘कर्मयोगी बद्रीविक्रम पूर्णिमा युवा प्रतिभा पुरस्कार २०८२’ र चन्दलाई ‘कर्मयोगी बद्रीविक्रम पूर्णिमा युवा प्रतिभा पुरस्कार २०८३’ प्रदान गरेको हो।
कार्यक्रमका प्रमुख अतिथि महेन्द्र बहुमुखी क्याम्पस, नेपालगन्जका पूर्वप्रमुख प्राध्यापक डा. गोपालप्रसाद शर्माले चारै जना स्रष्टालाई दोसल्ला ओढाएर नगद पुरस्कार र सम्मानपत्र प्रदान गरे।
समारोहमा विभिन्न साहित्यकारले आफ्ना रचना वाचन गरेका थिए। रचना वाचन तथा पुरस्कार वितरणले साहित्यिक सिर्जना, प्रतिभा र स्रष्टाको योगदानलाई सम्मान गर्ने अवसर प्रदान गरेको थियो।
हाम्रो पूर्णिमा साहित्य प्रतिष्ठानले विभिन्न विधाका स्रष्टालाई पुरस्कृत तथा सम्मानित गर्दै साहित्यिक सिर्जनाको प्रवर्द्धन र नयाँ प्रतिभालाई प्रोत्साहन गर्ने कार्य गर्दै आएको छ।





प्रतिकृया दिनुहोस्