देउवा सर्वसम्मत क्षेत्रीय प्रतिनिधि, वडा तहबाटै महाधिवेशन प्रक्रियामा सहभागी

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन इतर समूहले अघि बढाएको १५औँ महाधिवेशन प्रक्रियाअन्तर्गत क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन्।
देउवा आफ्नै गृहजिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ मा सम्पन्न संस्थापन इतर समूहको वडा अधिवेशनबाट क्षेत्रीय प्रतिनिधि चयन भएका हुन्। वडा सभापति पदम महताले देउवा सर्वसम्मत क्षेत्रीय प्रतिनिधि चयन भएको जानकारी दिएका छन्।
कांग्रेसभित्र संस्थापन र संस्थापन इतर समूहले छुट्टाछुट्टै महाधिवेशन प्रक्रिया अघि बढाइरहेका बेला देउवा आफैं वडा तहको अधिवेशनमा सहभागी हुँदै प्रतिनिधि चयनको प्रक्रिया रोजेका हुन्। देउवा पक्षले असोज १५ देखि वडा अधिवेशन सुरु गरेको हो भने संस्थापन पक्षले यसअघि नै आफ्नो अधिवेशन प्रक्रिया अघि बढाइसकेको छ।
देउवा पक्षले १४औँ महाधिवेशनको विधानअनुसार १५औँ महाधिवेशन गर्ने दाबी गर्दै आएको छ। उक्त विधानअनुसार केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था रहे पनि देउवाले भने वडा तहबाटै प्रतिनिधि चयनको प्रक्रिया रोजेका हुन्।
गन्यापधुरा–१ का नेता रमेश रावलका अनुसार देउवाले क्षेत्रीय प्रतिनिधिको उम्मेदवारी मनोनयनका लागि स्थानीय कौशिलादेवी देउवालाई वारेसनामा दिएका थिए। त्यसैका आधारमा उनको उम्मेदवारी दर्ता गरी सर्वसम्मत चयन गरिएको हो।
देउवा यसअघि पनि कांग्रेसका विभिन्न महाधिवेशनमा वडा तहबाटै प्रतिस्पर्धा गर्दै प्रतिनिधि चयन हुने प्रक्रियामा सहभागी हुँदै आएका छन्। यसपटक पनि उनले त्यही प्रक्रिया निरन्तरता दिएका हुन्।
गन्यापधुरा–१ बाट देउवाका स्वकीय सचिव भानु देउवा पनि क्षेत्रीय प्रतिनिधि चयन भएका छन्। उनले आफ्नो उम्मेदवारीका लागि स्थानीय इन्द्रबहादुर देउवालाई वारेसनामा दिएका थिए।
कौशिलादेवी देउवा देउवाकी भाइबुहारी र इन्द्रबहादुर देउवा काका नाता पर्ने स्थानीय नेताहरू हुन्।
देउवा पक्षले वडा अधिवेशनपछि असोज २० गते गाउँपालिका तथा नगरपालिका अधिवेशन, असोज २३ गते प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन, कात्तिक १५ गते जिल्ला अधिवेशन र मंसिर ४ गते प्रदेश अधिवेशन गर्ने कार्यतालिका बनाएको छ। केन्द्रीय महाधिवेशन मंसिर २१–२३ गते काठमाडौंमा गर्ने उसको कार्यतालिका छ।



प्रतिकृया दिनुहोस्