कांग्रेस देउवा समूहको अधिवेशन तीव्र : डोटी-बैतडीसहित ९ जिल्लामा नयाँ नेतृत्व चयन

धनगढी ।  नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा नेतृत्वको समूहले १५औँ महाधिवेशनअन्तर्गत समानान्तर रूपमा तल्लो तहका अधिवेशनलाई तीव्रता दिएको छ। संस्थापन पक्षले १५औँ महाधिवेशन सम्पन्न गरिसकेपछि देउवा समूहले भने वडा हुँदै जिल्ला तहसम्मका अधिवेशन अघि बढाएको हो।

देउवा समूहले १५ असोजदेखि वडा अधिवेशन सुरु गरी १५ कात्तिकमा जिल्ला अधिवेशन गर्ने कार्यतालिका सार्वजनिक गरेको थियो। तर, चुनदेवीस्थित समूहको सम्पर्क कार्यालयका अनुसार सोमबारसम्म एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका ३५ जिल्लामध्ये नौ जिल्लामा जिल्ला अधिवेशन सम्पन्न भइसकेको छ।

तीमध्ये पूर्वसभापति देउवाको गृहप्रदेश सुदूरपश्चिमका डोटी र बैतडीमा समेत जिल्ला नेतृत्व चयन भएको छ। डोटीमा सम्पन्न जिल्ला अधिवेशनबाट दिपायल सिलगढी नगरपालिकाका प्रमुख बाजीसिंह खड्का ‘विजय’ सभापतिमा चयन भएका छन्।

त्यस्तै, आइतबार सम्पन्न बैतडी जिल्ला अधिवेशनबाट वीरबहादुर बिष्ट देउवा समूहको जिल्ला सभापतिमा निर्वाचित भएका छन्। बिष्ट सुर्नया गाउँपालिकाका पूर्वअध्यक्ष हुन्। सुदूरपश्चिममा एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएका जिल्ला दार्चुला, बैतडी, बाजुरा, बझाङ, डडेल्धुरा र डोटी गरी छ वटा छन्।

कर्णालीमा ६ जिल्लामा नेतृत्व चयन

देउवा समूहले पूर्वउपसभापति पूर्णबहादुर खड्काको गृहप्रदेश कर्णालीमा पनि जिल्ला अधिवेशनलाई अघि बढाएको छ। १० जिल्ला रहेको कर्णालीमा सुर्खेत र दैलेखबाहेकका आठ जिल्लामध्ये छ जिल्लामा देउवा समूहले नेतृत्व चयन गरिसकेको जनाएको छ।

देउवा समूहको महाधिवेशन तयारी समितिका संयोजक डा. शशांक कोइरालाको सचिवालयका अनुसार डोल्पामा देउप्रसाद बुढा, हुम्लामा सूर्यबहादुर शाही, जुम्लामा नेत्रकला शाही र मुगुमा तिलकबहादुर मल्ल जिल्ला सभापतिमा निर्वाचित भएका छन्। कालिकोटमा नगेन्द्र बिष्ट सर्वसम्मत सभापति बनेका छन् भने रुकुम पश्चिममा नन्दबहादुर बिष्ट जिल्ला सभापतिमा निर्वाचित भएका छन्।

कालिकोटका बिष्ट नरहरिनाथ गाउँपालिकाका अध्यक्ष हुन्। उनी कांग्रेसको १४औँ महाधिवेशनमा जिल्ला सचिवमा निर्वाचित भएका थिए। दैलेखमा भने १२ कात्तिकमा जिल्ला अधिवेशन गर्ने तयारी रहेको नेता भुपेन्द्रजंग शाहीले बताएका छन्।

संखुवासभामा पनि जिल्ला नेतृत्व चयन

देउवा समूहले कोशी प्रदेशको संखुवासभामा पनि जिल्ला अधिवेशन सम्पन्न गरिसकेको छ। त्यहाँ रामकुमार जिमी जिल्ला सभापतिमा निर्वाचित भएका छन्।

देउवा समूहले १७–१८ भदौमा बसेको बैठकबाट कांग्रेसको १५औँ केन्द्रीय महाधिवेशन २१–२३ मंसिरमा गर्ने निर्णय गरेको थियो। सोही तयारीअन्तर्गत तल्लो तहका अधिवेशनलाई अघि बढाइएको हो।

चुनदेवीस्थित सम्पर्क कार्यालयका अनुसार देशभरका ६ हजार ७४३ वडामध्ये ६ हजार १०७ वडामा अधिवेशन सम्पन्न भइसकेको छ। त्यस्तै, ४८० पालिकामा समेत अधिवेशन सम्पन्न भएको समूहको तथ्यांक छ।

पालिकातर्फ कोशीका ८९, मधेशका ५४, बागमतीका ७०, गण्डकीका ५०, लुम्बिनीका ८६, कर्णालीका ५५ र सुदूरपश्चिमका ७६ पालिकामा अधिवेशन सम्पन्न भएको जनाइएको छ।

त्यसैगरी प्रदेशसभा निर्वाचन क्षेत्रतर्फ १७० र प्रतिनिधिसभा निर्वाचन क्षेत्रतर्फ ८५ स्थानमा अधिवेशन सम्पन्न भइसकेको देउवा समूहको तथ्यांक छ। प्रदेशसभा निर्वाचन क्षेत्रस्तरीय अधिवेशनमा सुदूरपश्चिमका १८ र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनमा नौ स्थान समेटिएका छन्।