October 26, 2026, Monday
२०८३ कार्तिक १०

एनपिएलमा सुदूरपश्चिमको खराब सुरुआत : लुम्बिनी ७ विकेटले विजयी

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा सुदूरपश्चिम रोयल्सले निराशाजनक सुरुआत गरेको छ। सुदूरपश्चिमलाई ८७ रनमै समेटेको लुम्बिनी लायन्सले ८८ रनको सामान्य लक्ष्य ९.५ ओभरमै ३ विकेट गुमाएर पूरा गर्दै ७ विकेटको शानदार जित निकालेको हो।

लुम्बिनीको जितमा बलर शेर मल्ल र किशोर महतो निर्णायक बने। यी दुईको घातक बलिङसामु सुदूरपश्चिमको बलियो ब्याटिङ लाइनअप टिक्न नसक्दा टोली १७.२ ओभरमा ८७ रनमै अलआउट भएको थियो। किशोरले ४ तथा शेर मल्लले ३ विकेट लिए।

८८ रनको लक्ष्य पछ्याएको लुम्बिनीले भने सुरुदेखि नै आक्रामक खेल प्रस्तुत गर्‍यो। ओपनर डार्सी सर्ट र आसिफ शेखले पहिलो विकेटका लागि ७१ रनको साझेदारी गर्दै टोलीलाई सहज जितको आधार तयार पारे।

सर्टले १८ बलमा ४ चौका र ३ छक्कासहित ४० रन बनाए। उनी अनिल खरेलको बलमा शेरफेन रदरफोर्डबाट क्याच आउट भए। आसिफले २५ बलमा २ चौका र २ छक्काको मद्दतमा ३२ रन बनाए। उनलाई पनि खरेलले कप्तान दीपेन्द्रसिंह ऐरीको हातबाट क्याच गराए।

निरोशन डिकवेल्ला १० बलमा ७ रन बनाएर दीपेन्द्रसिंह ऐरीको बलमा बोल्ड भए। त्यसपछि कप्तान रोहितकुमार पौडेल र शमीम हुसेनले कुनै जोखिम नलिई टोलीलाई लक्ष्यसम्म पुर्‍याए। रोहित ५ र शमीम १ रनमा अविजित रहे।

सुदूरपश्चिमका लागि अनिल खरेलले २ ओभरमा ९ रन खर्चेर २ विकेट लिए भने कप्तान दीपेन्द्रसिंह ऐरीले ३.५ ओभरमा ३१ रन खर्चेर १ विकेट हात पारे। स्कट कुगेलेइन महँगो साबित भए। उनले २ ओभरमा ३० रन खर्चिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम लुम्बिनीका शेर मल्ल र किशोर महतोको बलिङसामु सुरुदेखि नै दबाबमा परेको थियो। १७.२ ओभरमा सबै विकेट गुमाउँदा सुदूरपश्चिमले ८७ रन मात्रै बनाउन सक्यो।

अघिल्लो संस्करणको फाइनलमा पनि यी दुई टोली आमनेसामने भएका थिए, जहाँ लुम्बिनीले सुदूरपश्चिमलाई पराजित गर्दै उपाधि जितेको थियो। यसपटक पनि लुम्बिनीले सुदूरपश्चिमलाई एकतर्फी खेलमा हराउँदै एनपिएलको नयाँ संस्करणमा प्रभावशाली सुरुआत गरेको छ।