October 26, 2026, Monday
२०८३ कार्तिक १०

कात्तिक १७ र १८ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौँ । सरकारले यही कात्तिक १७ र १८ गते देशभरका करिब २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ तथा करिब २० लाख बालबालिकालाई जुकाको औषधि खुवाउने भएको छ।

नियमित कार्यक्रमअनुसार आर्थिक वर्ष २०८३/८४ को पहिलो चरणमा कात्तिक २ र ३ गते भिटामिन ‘ए’ खुवाउने तालिका थियो। तर, दसैँ परेकाले कार्यक्रम कात्तिक १७ र १८ गते सारिएको स्वास्थ्य सेवा विभागले जनाएको छ।

स्वास्थ्य सेवा विभागको पोषण शाखाका प्रमुख लिलाविक्रम थापाका अनुसार ६ महिनादेखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ।

विभागका अनुसार भिटामिन ‘ए’ क्याप्सुल सबै प्रदेशका स्वास्थ्य आपूर्ति केन्द्रमा पठाइसकिएको छ। कार्यक्रमअन्तर्गत लक्षित बालबालिकालाई नजिकका स्वास्थ्य संस्था तथा तोकिएका केन्द्रमा औषधि खुवाउने व्यवस्था मिलाइएको छ।

बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्ने उद्देश्यले सरकारले २०५० सालदेखि भिटामिन ‘ए’ क्याप्सुल र २०५६ सालदेखि जुकाको औषधि नियमित रूपमा खुवाउँदै आएको छ।

यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालनका लागि देशभर ५२ हजार महिला स्वास्थ्य स्वयंसेविका र १० हजार स्वास्थ्यकर्मी परिचालन हुने विभागले जनाएको छ।

अभिभावकले तोकिएको मिति र स्थानमा आफ्ना लक्षित उमेर समूहका बालबालिकालाई अनिवार्य रूपमा भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन स्वास्थ्य अधिकारीहरूले आग्रह गरेका छन्।