October 26, 2026, Monday
२०८३ कार्तिक १०

एनपीएल ३ : सुदूरपश्चिम रोयल्स ८७ रनमै अलआउट, लुम्बिनी लायन्सलाई ८८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० को तेस्रो संस्करणको पहिलो खेलमा सुदूरपश्चिम रोयल्स ८७ रनमै अलआउट भएको छ। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले १७.२ ओभरमा सबै विकेट गुमाउँदै लुम्बिनी लायन्ससामु ८८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको हो।

सुदूरपश्चिमको इनिङ्स सुरुदेखि नै लुम्बिनीका बलरसामु दबाबमा परेको थियो। कप्तान दिपेन्द्रसिंह ऐरीले २३ बलमा २७ रन बनाएर टोलीको इनिङ्स सम्हाल्ने प्रयास गरे पनि अन्य ब्याटरले उल्लेख्य योगदान दिन सकेनन्। ऐरीपछि शैफ अली जैबले १४ बलमा १३ रन बनाए।

सुदूरपश्चिमले २४ रन जोड्दा पहिलो विकेट गुमाएको थियो। चौथो ओभरको पहिलो बलमा शेर मल्लले विनोद भण्डारीलाई ९ रनमा एलबी डब्ल्युको धरापमा पारे। त्यसपछि आरिफ शेख कुनै रन नजोडी आउट भए। ३४ रन पुग्दा सुदूरपश्चिमले चार विकेट गुमाइसकेको थियो।

त्यसपछि पनि विकेट पतनको क्रम रोकिएन। शैफ अली जैब १३, ब्रान्डन म्याकमुलेन २ र इशान पाण्डे ७ रनमा आउट भए। शेरफन रदरफोर्ड १, स्कट कुगेलेइन र हेमन्त धामी शून्य रनमै पवेलियन फर्किए। अनिल खरेलले ७ रन बनाए भने अभिनास बोहरा अविजित रहे।

सुदूरपश्चिमका लागि कप्तान ऐरीबाहेक कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। कमजोर ब्याटिङका कारण टोली १८ ओभर पनि पूरा गर्न नपाउँदै ८७ रनमा समेटिएको हो।

लुम्बिनीका लागि किशोरी महतोले चार विकेट लिए भने शेर मल्लले तीन विकेट लिए। शाड्ली भान, तिलकराज भण्डारी र रोहितकुमार पौडेलले समान एक–एक विकेट लिए। सुदूरपश्चिमलाई सस्तैमा समेट्न किशोरी र शेरले प्रभावशाली बलिङ गरे।

यससँगै एनपीएलको तेस्रो संस्करण सोमबारदेखि औपचारिक रूपमा सुरु भएको छ। प्रतियोगिताको उद्घाटन कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजित समारोहमा प्रधानमन्त्री बालेन शाहले गरेका हुन्। उनले मैदानमा पुगेर बल अम्पायरलाई हस्तान्तरण गरेपछि प्रतियोगिताको औपचारिक सुरुवात भएको थियो।

उद्घाटन समारोहका क्रममा प्रधानमन्त्री शाहले दर्शकतर्फ ‘फ्लाइङ किस’समेत दिएका थिए। अब ८८ रनको लक्ष्य पछ्याउँदै लुम्बिनी लायन्स मैदानमा उत्रिएको छ।