नवरात्रको सातौँ दिन आज कालरात्रि देवीको पूजा, दिउँसो फूलपाती भित्र्याइँदै

काठमाडौं । नवरात्रको सातौँ दिन आज दसैँ घर तथा पूजा कोठामा नवदुर्गामध्येकी सातौँ देवी कालरात्रिको विधिपूर्वक पूजा–आराधना गरिँदैछ। प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमीका दिन कालरात्रि देवीको पूजा गर्ने वैदिक सनातनी परम्परा छ।
धार्मिक मान्यताअनुसार प्राणीमात्रलाई नष्ट गर्ने काललाई समेत भगवतीले नष्ट गर्ने भएकाले देवीको यस स्वरूपलाई ‘कालरात्रि’ भनिएको हो। विभिन्न पुराणमा कालरात्रिलाई कृष्ण वर्णकी तथा भयङ्कर स्वरूप भएकी देवीका रूपमा वर्णन गरिएको छ। उनको आराधनाले भय, संकट र नकारात्मक शक्तिबाट मुक्ति मिल्ने धार्मिक विश्वास छ।
नवरात्रको पहिलो दिन असोज १५ गते आइतबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जमरा राखिएको थियो। सोही दिन नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी पूजा गरिएको थियो।
त्यसपछि दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता र छैटौँ दिन कात्यायनी देवीको पूजा–आराधना गरिएको थियो। आज सातौँ दिन कालरात्रिको पूजा भइरहेको छ। नवरात्रको आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा गर्ने परम्परा छ।
नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत तथा विभिन्न देवी स्तोत्र पाठ गर्ने गरिन्छ। देवीको आराधना र पूजा गरेमा शक्ति, ऐश्वर्य तथा विद्या प्राप्त हुने धार्मिक विश्वासका कारण वैदिक सनातन धर्मावलम्बीले आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म विशेष रूपमा दुर्गा देवीको आराधना गर्ने गर्छन्।
यसैगरी, नवरात्रको सातौँ दिन आजै फूलपाती भित्र्याउने परम्परा पनि छ। वैदिक विधिअनुसार फूलपाती अपराह्नकालमा दसैँ घर तथा पूजा कोठामा भित्र्याइन्छ। देशभरका विभिन्न शक्तिपीठमा नवरात्रको अवसरमा पूजा, आराधना तथा दर्शन गर्ने भक्तजनको भीड लाग्ने गरेको छ।
दुर्गा पक्षका नौ दिनको पूजा सम्पन्न भएपछि विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म दसैँको टीका तथा प्रसाद ग्रहण गर्ने परम्परा छ। यसरी नेपाली समाजमा बडादसैँ पर्व करिब १५ दिनसम्म धार्मिक तथा सांस्कृतिक उत्सवका रूपमा मनाइन्छ।





प्रतिकृया दिनुहोस्