राष्ट्रपति पौडेलद्वारा दसैँ शुभकामना : सामाजिक एकता र सद्भाव सुदृढ गर्न आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्।
बडादसैँका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले बहुजातीय, बहुधार्मिक तथा बहुसांस्कृतिक मुलुक नेपालमा विभिन्न जातजातिका आ–आफ्नै परम्परा भए पनि दसैँले पारिवारिक मिलन, सामाजिक मेलमिलाप, क्षमा, सद्भाव र भाइचारालाई मजबुत बनाउन महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताएका छन्।
उनले भौगोलिक, सांस्कृतिक तथा भाषिक विविधताबीच सामाजिक एकतालाई थप सुदृढ गर्नुका साथै सांस्कृतिक एकता र राष्ट्रिय पहिचानलाई अक्षुण्ण राख्न दसैँ पर्वले महत्वपूर्ण भूमिका निर्वाह गरेको उल्लेख गरेका छन्।
राष्ट्रपति पौडेलले विजया दशमीका दिन दुर्गा भगवतीले दानवी शक्तिमाथि तथा भगवान् रामले रावणमाथि विजय हासिल गरेको धार्मिक एवं ऐतिहासिक कथन स्मरण गर्दै दसैँलाई अन्यायमाथि न्याय र असत्यमाथि सत्यको विजयको उत्सवका रूपमा मनाइने पर्वका रूपमा व्याख्या गरेका छन्।
दसैँका अवसरमा पारिवारिक जमघट तथा पुनर्मिलन हुने र आपसी खुसी तथा हार्दिकता साटासाट गरिने उल्लेख गर्दै उनले पारिवारिक, सामाजिक, धार्मिक, सांस्कृतिक तथा राष्ट्रिय दृष्टिले दसैँको विशेष महत्व रहेको बताएका छन्।
यसैबीच, देशका विभिन्न भागमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति राष्ट्रपति पौडेलले दुःख व्यक्त गरेका छन्। उनले विपद्मा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
राष्ट्रपति पौडेलले बाढीबाट प्रभावित नागरिकको पुनःस्थापना तथा राहतका लागि सबै पक्ष एकताबद्ध भएर अघि बढ्नसमेत अपिल गरेका छन्।





प्रतिकृया दिनुहोस्