October 17, 2026, Saturday
२०८३ कार्तिक १

वर्षौंदेखिको प्रतीक्षा सकियो, सुदूरपश्चिम प्रदेशमै अब एमबीबीएस पढाइ

धनगढी । सुदूरपश्चिम प्रदेशमा पहिलोपटक एमबीबीएस तहको चिकित्साशास्त्र अध्ययन–अध्यापन हुने भएको छ। कैलालीको गेटास्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले शैक्षिक सत्र २०८३/८४ देखि एमबीबीएस कार्यक्रम सञ्चालनका लागि ५० सिट प्राप्त गरेको छ।

चिकित्सा शिक्षा आयोगले विश्वविद्यालयमा एमबीबीएस कार्यक्रम सञ्चालनका लागि ५० सिट निर्धारण गरेसँगै सुदूरपश्चिममै चिकित्सक उत्पादन गर्ने वर्षौंदेखिको प्रतीक्षा पूरा हुने बाटो खुलेको हो। यससँगै प्रदेशमै चिकित्सक उत्पादन गर्ने लक्ष्यले औपचारिक रूपमा गति लिएको छ।

प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको चिकित्सा शिक्षा आयोगको बैठकले विभिन्न चिकित्सा शिक्षा कार्यक्रमका लागि सिट निर्धारण गरेको हो। आयोगका अनुसार गत वर्षको तुलनामा यस वर्ष चिकित्सा शिक्षाका विभिन्न कार्यक्रममा ४१८ सिट थपिएका छन्। एमबीबीएसतर्फ मात्रै ११० सिट थप गरिएको छ।

गेटाले एमबीबीएससँगै नर्सिङ, मेडिकल ल्याब टेक्नोलोजी र अप्टोमेट्री विषयमा समेत अध्यापन सञ्चालनका लागि सिट माग गरेको थियो।

विश्वविद्यालयका उपकुलपति डा. सुनीलकुमार जोशीका अनुसार आयोगले एमबीबीएसतर्फ ५०, नर्सिङतर्फ २०, बीएस्सी मेडिकल ल्याब टेक्नोलोजी (एमएलटी)तर्फ १० र बी अप्टोमेट्रीतर्फ १० सिट निर्धारण गरेको छ।

एमबीबीएसमा ५० सिट प्राप्त भएसँगै गेटाबाटै चिकित्सक उत्पादन गर्ने प्रक्रिया सुरु हुने भएको छ। सुदूरपश्चिममा पहिलोपटक एमबीबीएस अध्यापन सुरु हुनु प्रदेशको स्वास्थ्य शिक्षा र चिकित्सा जनशक्ति उत्पादनका दृष्टिले महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ।