October 17, 2026, Saturday
२०८३ कार्तिक १

क्यानडाविरुद्ध आज नेपाल खेल्दै, जिते लिग-२ मा छैटौँ स्थान पक्का

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत ओमानमा जारी एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) शृङ्खलामा नेपालले आज क्यानडासँग खेल्दैछ।

ओमानको अल अमेरत क्रिकेट ग्राउन्ड मिनिस्ट्री टर्फ–१ मा हुने खेल नेपाली समयअनुसार बिहान सवा ११ बजे सुरु हुनेछ।

नेपालले जारी शृङ्खलाका यसअघिका दुवै खेल जितेको छ। पहिलो खेलमा क्यानडालाई पराजित गरेको नेपालले दोस्रो खेलमा आयोजक ओमानलाई हराएको थियो।

लिग–२ को अंकतालिकामा नेपाल छैटौँ स्थानमा छ। नेपालले ३४ खेलबाट २८ अंक जोडेको छ। सातौँ स्थानमा रहेको क्यानडाको ३५ खेलबाट २७ अंक छ।

क्यानडाले शृङ्खलाको सुरुवाती दुई खेलमा ओमान र नेपालसँग पराजय बेहोरे पनि बिहीबार ओमानलाई हराएको थियो। त्यससँगै नेपालका लागि शीर्ष ६ मा रहन आजको खेल महत्वपूर्ण बनेको छ।

आज क्यानडालाई पराजित गर्न सके नेपालले लिग–२ को शीर्ष ६ मा आफ्नो स्थान पक्का गर्नेछ। नेपाल पराजित भएमा भने छैटौँ स्थान सुरक्षित गर्न अन्तिम खेलमा सोमबार ओमानलाई हराउनुपर्नेछ।

विश्वकप लिग–२ को शीर्ष ६ मा रहने टोलीले आगामी विश्वकप छनोटको अवसर सुरक्षित गर्ने भएकाले नेपालका लागि आजको खेल निकै महत्वपूर्ण मानिएको छ।