October 25, 2026, Sunday
२०८३ कार्तिक ९

कांग्रेसका २३० पदाधिकारी तथा सदस्यले कात्तिक १२ गते शपथ लिने

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको पद तथा गोपनीयताको शपथ र प्रमाणपत्र वितरण कार्यक्रम कात्तिक १२ गते गर्ने तयारी भएको छ।

महाधिवेशनबाट सभापतिमा निर्वाचित गगन थापाले असोज ३१ गते नै पद तथा गोपनीयताको शपथ लिइसकेका छन्। तर, सभापति थापाबाहेक निर्वाचित तथा निर्विरोध भएका २३० जना पदाधिकारी तथा केन्द्रीय सदस्यले अझै शपथ लिएका छैनन् भने निर्वाचित भएको प्रमाणपत्रसमेत पाएका छैनन्।

असोज १८ देखि २३ गतेसम्म सम्पन्न कांग्रेसको १५औँ महाधिवेशनले २३१ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गरेको थियो। निर्वाचन प्रक्रिया सम्पन्न भएको लामो समय बितिसक्दा पनि बाँकी सदस्यहरूको शपथ तथा प्रमाणपत्र वितरण हुन नसकेको हो।

कांग्रेस निर्वाचन समितिका सदस्यसचिव अधिवक्ता राजु कटुवालले कात्तिक १२ गते कार्यक्रम गर्ने गरी तयारी अघि बढाइएको जानकारी दिएका छन्। यद्यपि, मिति भने अझै औपचारिक रूपमा निश्चित भइनसकेको उनले बताए।

कटुवालका अनुसार वरिष्ठ उपसभापतिमा निर्वाचित विश्वप्रकाश शर्मा मुलुकबाहिर रहेकाले कार्यक्रमको मिति टुंगो लगाउन केही ढिलाइ भएको हो। शर्मा स्वदेश फर्किएपछि शपथ तथा प्रमाणपत्र वितरणको समय निश्चित गरिनेछ।

यसअघि सभापति थापाले मात्रै शपथ लिइसकेकाले कात्तिक १२ गते कार्यक्रम भए कांग्रेसको नयाँ २३१ सदस्यीय केन्द्रीय कार्यसमितिले औपचारिक रूपमा पूर्णता पाउने छ।