प्रधानमन्त्री शाहले भने- ‘इमानदार प्रयास र सामूहिक मेहनतले विकृति हटाउन सकिन्छ’

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असत्यमाथि सत्यको विजय भएको उपलक्ष्यमा मनाइने विजयादशमीका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन्।
सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले पौराणिक मान्यताअनुसार विजयादशमीका दिन दुर्गा भवानीले महिषासुरजस्तो आसुरी शक्तिमाथि तथा भगवान् रामले असत्यका प्रतीक रावणमाथि विजय प्राप्त गरेको उल्लेख गरेका छन्।
विजयादशमीका अवसरमा मान्यजनबाट दुर्गा भवानीको प्रसादस्वरूप टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा रहेको उल्लेख गर्दै उनले दुर्गा भवानीले विजय प्राप्त गरेझैँ हरेक सत्कर्ममा विजय प्राप्त गर्न सकियोस् भन्ने कामनासहित मान्यजनको आशीर्वाद लिने प्रचलन रहेको बताएका छन्।
प्रधानमन्त्री शाहले विजयादशमीले मानिसमा रहेका अहंकार, लोभ, ईर्ष्या, हिंसा र विभेदजस्ता नकारात्मक प्रवृत्ति त्याग्न प्रेरणा दिने बताएका छन्।
‘आजको दिनमा आसुरी प्रवृत्तिका रूपमा रहेका भ्रष्टाचार, कुशासन, ढिलासुस्ती, असमानता र राजनीतिक विकृति हटाउन र हरेक नागरिकलाई ‘हाम्रा लागि सरकार छ’ भन्ने महसुस गराउन हामी सबै एकजुट हुन आवश्यक छ,’ उनले सन्देशमा भनेका छन्, ‘इमानदार प्रयास, अठोट र सामूहिक मेहनतले नै हामीलाई यस्ता विकृति हटाउन मद्दत गर्नेछ।’
परिवर्तनका लागि सोचसँगै व्यवहारमा समेत परिवर्तन आवश्यक रहेको प्रधानमन्त्री शाहले बताएका छन्।
विजयादशमीले भौगोलिक, सांस्कृतिक र भाषिक विविधतायुक्त नेपाली समाजमा सबै वर्ग, समुदाय र क्षेत्रका नागरिकलाई एउटै सूत्रमा बाँध्ने तथा लामो समयदेखि टाढिएका साथीभाइ र आफन्तजनसँग आत्मीयता साट्ने अवसर प्रदान गर्ने उनले उल्लेख गरेका छन्।
प्रधानमन्त्री शाहले आ–आफ्नो ठाउँ र क्षमताअनुसार विजयादशमी मनाउँदै आपसी सद्भाव, एकता, सम्मान र माया साट्न सबैमा आह्वान गरेका छन्।





प्रतिकृया दिनुहोस्