October 21, 2026, Wednesday
२०८३ कार्तिक ५

विपत्ति र शोकबीचको दसैँले राष्ट्रिय एकतालाई अझ बलियो बनाओस् : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विपत्ति र शोकबीच मनाउनुपरेको यस वर्षको बडादसैँले नेपाली समाजलाई अझ बलियो एकताको सूत्रमा बाँध्ने विश्वास व्यक्त गरेका छन्।

विजयादशमी २०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै लामिछानेले विपत्तिमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गरेका छन्।

उनले यस वर्षको दसैँ धेरै नागरिकका लागि उत्सवभन्दा पीडा र शोकको अवस्थामा आएको उल्लेख गरेका छन्। विपत्तिका कारण ठूलो जनधनको क्षति भएको र हजारौँ परिवार घरबारविहीन तथा विस्थापित हुनुपरेको अवस्थाप्रति उनले दुःख व्यक्त गरेका छन्।

असत्यमाथि सत्य र अन्यायमाथि न्यायको विजयको सन्देश बोकेको दसैँले विपत्तिबाट गुज्रिरहेको मुलुकलाई आशा र पुनर्निर्माणको बाटोतर्फ अघि बढाउने ऊर्जा दिनुपर्ने लामिछानेको भनाइ छ।

उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य, समृद्धि र प्रगतिको शुभकामना व्यक्त गरेका छन्।

नवदुर्गा भवानीले सबैलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर राष्ट्र र जनताको हितमा समर्पित हुने शक्ति, सद्बुद्धि तथा सङ्कटसँग जुध्ने साहस प्रदान गरून् भन्ने कामनासमेत उनले गरेका छन्।

विपत्तिले सिर्जना गरेको पीडाबीच पनि दसैँले निराशाबाट आशातर्फ र विपत्तिबाट नवनिर्माणतर्फ अघि बढ्ने नयाँ ऊर्जा प्रदान गर्ने विश्वास लामिछानेले व्यक्त गरेका छन्।

उनको सन्देशमा यस वर्षको दसैँलाई केवल व्यक्तिगत उत्सवका रूपमा नभई पीडितप्रति संवेदना, राष्ट्रिय एकता र नवनिर्माणको संकल्प गर्ने अवसरका रूपमा लिनुपर्ने संकेत गरिएको छ।