दसैँको खुसी आफ्नो घरआँगनमा मात्रै सीमित नरहोस् : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राष्ट्रिय विपत्ति र पीडाबीच मनाउनुपरेको यस वर्षको बडादसैँले समाजमा आपसी सद्भाव र एकताको भावना अझ बलियो बनाओस् भन्ने शुभकामना व्यक्त गरेका छन्।
विजयादशमीका अवसरमा शुभकामना सन्देश जारी गर्दै थापाले दसैँले सबैलाई आफूभित्रका कमजोरीमाथि विजय प्राप्त गर्ने आत्मबल, अरूको पीडा बुझ्ने संवेदना र सामाजिक सद्भावको भावना थप बलियो बनाउने प्रेरणा देओस् भन्ने कामना गरेका छन्।
यस वर्षको दसैँ राष्ट्रिय विपत्ति र पीडाको संवेदनशील परिस्थितिमा मनाउनुपरेको उल्लेख गर्दै उनले धेरै परिवार दुःख, पीडा र कठिनाइमा रहेको बताएका छन्।
थापाले यस्तो परिस्थितिमा दसैँको खुसी आफ्नो परिवार र घरआँगनमा मात्र सीमित नराखी दुःखमा रहेका परिवारसँग पनि बाँड्न आग्रह गरेका छन्।
“यस्तो बेला हाम्रो चाडपर्वको खुसी केवल आफ्नो घरआँगनमा सीमित नरहोस्। दुःखमा परेका परिवारको पीडामा थोरै भए पनि मलम लगाउन सकौँ, आफ्नो खुसी बाँड्न सकौँ र एकअर्काको सहारा बन्न सकौँ,” थापाले शुभकामना सन्देशमा भनेका छन्।
उनको सन्देशमा यस वर्षको दसैँलाई विपत्तिमा परेका नागरिकप्रति संवेदना प्रकट गर्ने, सहयोग गर्ने र आपसी सहारा बन्ने अवसरका रूपमा लिनुपर्ने भाव व्यक्त गरिएको छ।
थापाले विजयादशमीले नेपाली समाजमा सामाजिक सद्भाव, सहकार्य र मानवीय संवेदना अझ बलियो बनाओस् तथा कठिन परिस्थितिमा रहेका नागरिकलाई आशा र आत्मबल प्रदान गरोस् भन्ने शुभकामना दिएका छन्।





प्रतिकृया दिनुहोस्