विजयादशमीको टीका जारी, आज दिनभरि लगाउन सकिने

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँको मुख्य दिन विजयादशमीको टीका सुरु भएको छ। मान्यजनको हातबाट रातो टीका, जमरा र आशीर्वाद ग्रहण गर्न बिहानैदेखि घरघरमा चहलपहल बढेको छ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले बिहान १० बजेर २६ मिनेटलाई टीका लगाउने उत्तम साइत तोकेको छ। तर विजयादशमी आफैँमा शुभ दिन भएकाले यही समय कुर्नैपर्ने बाध्यता छैन। निर्धारित साइतमा टीका लगाउन नसक्नेले आज दिनभरि आफ्नो अनुकूल समयमा मान्यजनबाट टीका, जमरा तथा आशीर्वाद ग्रहण गर्न सक्नेछन्।
यसअघि समितिले बिहान ८ बजेर ४९ मिनेटमा देवी विसर्जनको साइत निर्धारण गरेको थियो। नवरात्रका नौ दिनसम्म विधिपूर्वक पूजा–आराधना गरिएकी देवीको विसर्जनपछि टीका तथा जमरा ग्रहण गर्ने परम्परा छ। कतिपयले भने टाढा जानुपर्ने भएकाले देवी विसर्जनपछि नै टीका लगाएर यात्रा सुरु गरेका छन्।
टीका लगाउने मुख्य दिन भएकाले काठमाडौँसहित देशभर आफन्त तथा मान्यजनको घरमा पुगेर आशीर्वाद लिने क्रम बढेको छ। घरमा टीका लगाएपछि गाउँघर तथा आफन्तकहाँ जान काठमाडौँबाट बाहिरिने क्रमसमेत सुरु भएको छ। लामो तथा छोटो दूरीका सवारीसाधन पनि क्रमशः सञ्चालनमा आएका छन्।
रातो टीका र जमरा विजयादशमीका प्रमुख सांस्कृतिक प्रतीक हुन्। घटस्थापनाका दिन राखिएको जमरा दशमीका दिन देवीको प्रसादका रूपमा ग्रहण गरिन्छ। मान्यजनले टीका र जमरा लगाइदिँदै सानालाई दीर्घायु, आरोग्य, सुख, शान्ति, समृद्धि तथा उत्तरोत्तर प्रगतिको आशीर्वाद दिने परम्परा छ।
विजयादशमीलाई असत्यमाथि सत्य, अधर्ममाथि धर्म तथा आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीक मानिन्छ। धार्मिक मान्यतामा देवी दुर्गाले महिषासुरमाथि विजय प्राप्त गरेको तथा रामायण परम्परामा भगवान् श्रीरामले रावणमाथि विजय हासिल गरेको प्रसङ्गसँग यो पर्व जोडिएको छ।
यस दिन टीका लगाउँदा दिशाको विचार गर्ने परम्परासमेत छ। यस वर्षको पञ्चाङ्गीय मान्यताअनुसार चन्द्रमा कुम्भ राशिमा पश्चिम दिशातर्फ रहने भएकाले टीका लगाइदिने मान्यजन पश्चिमबाट पूर्वतर्फ र टीका थाप्ने व्यक्ति पूर्वबाट पश्चिमतर्फ फर्किने बताइएको छ।
विजयादशमी केवल धार्मिक अनुष्ठानमा सीमित पर्व होइन। परिवारका ज्येष्ठ सदस्यप्रति सम्मान, सानाप्रति स्नेह, टाढिएका आफन्तबीच पुनर्मिलन र सामाजिक सद्भाव बढाउने अवसरका रूपमा पनि यसको विशेष महत्त्व छ। आज टीकाको मुख्य दिन भए पनि पूर्णिमासम्म मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा कायम छ।





प्रतिकृया दिनुहोस्