October 17, 2026, Saturday
२०८३ कार्तिक १

कांग्रेस सहमहामन्त्रीमा शाही निर्वाचित, बुधबारसम्म सबै परिणाम सार्वजनिक हुने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत पिछडिएको क्षेत्रतर्फको सहमहामन्त्रीमा जीवनबहादुर शाही निर्वाचित भएका छन्। चार प्रतिस्पर्धीलाई फराकिलो मतान्तरले पछि पार्दै शाही सहमहामन्त्री बनेका हुन्।

निर्वाचन पोर्टलमा सार्वजनिक परिणामअनुसार शाहीले ३ हजार ९ सय ६ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिस्पर्धी जनकराज गिरीले १ हजार ३ सय ७० मत प्राप्त गरेका छन्। शाहीले गिरीलाई २ हजार ५ सय ३६ मतले पछि पारेका छन्।

शाहीसँगै पिछडिएको क्षेत्रतर्फ सहमहामन्त्री पदमा जनकराज गिरी, नारायणप्रसाद भट्टराई, राजन कुँवर र रामबहादुर विष्ट प्रतिस्पर्धामा थिए। यद्यपि निर्वाचन समितिले भने परिणामको औपचारिक घोषणा गरिसकेको छैन।

निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले मतगणना सकिएको र मत यकिन गर्ने काम भइरहेको जानकारी दिएका छन्। उनका अनुसार मतगणनालाई तीव्रता दिइएको छ र बुधबारसम्म सबै पदको अन्तिम परिणाम सार्वजनिक गर्ने लक्ष्य राखिएको छ।

कांग्रेसको १४औँ महाधिवेशनमा पनि शाहीले पिछडिएको क्षेत्रतर्फ सहमहामन्त्री पदमा उम्मेदवारी दिएका थिए। त्यतिबेला उनी बद्रीप्रसाद पाण्डेसँग पराजित भएका थिए। दोस्रो प्रयासमा भने शाही फराकिलो मतान्तरसहित सहमहामन्त्री बन्न सफल भएका हुन्। उनी कर्णाली प्रदेश कांग्रेस संसदीय दलका नेतासमेत हुन्।

२५ समूह बनाएर मतगणना

नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि भएको निर्वाचनको मतगणना तीव्र गतिमा अघि बढिरहेको छ। बडादशैंलाई ध्यानमा राख्दै छिटो र प्रभावकारी रूपमा गणना सम्पन्न गर्न मंगलबार २५ वटा समूह बनाएर विभिन्न पदको मत एकैसाथ गणना भइरहेको निर्वाचन समितिले जनाएको छ।

सदस्य सचिव कटुवालका अनुसार कांग्रेस केन्द्रीय कार्यालयमा मतगणना व्यवस्थित र मर्यादित रूपमा भइरहेको छ। दुई क्लस्टरको मतगणना मंगलबार बिहानै सम्पन्न भएको र चार क्लस्टरको गणना जारी रहेको उनले जानकारी दिए। बाँकी छ क्लस्टरको गणना पनि सुरु गर्ने तयारी भइरहेको छ।

निर्वाचन समितिका अनुसार जनसम्पर्क समितितर्फ दुई महिला र पाँच खुला गरी सात जना केन्द्रीय सदस्य, साथै पिछडिएको क्षेत्रतर्फ सहमहामन्त्री र केन्द्रीय सदस्य पदको मतगणना सम्पन्न भएको छ।

अहिले खुला सहमहामन्त्री, महिला सहमहामन्त्री तथा महिला केन्द्रीय सदस्य पदको मतगणना भइरहेको छ।

त्यसैगरी आदिवासी जनजातितर्फ सहमहामन्त्री र केन्द्रीय सदस्य, भूगोलतर्फ सुदूरपश्चिम प्रदेशका खुला, महिला र ३५ वर्षमुनिका केन्द्रीय सदस्य तथा ३५ वर्षमुनिका खुला केन्द्रीय सदस्य पदको मत पनि गणना भइरहेको निर्वाचन समितिले जनाएको छ।

बाँकी क्लस्टरको मतगणना पनि सुरु गर्दै गणनालाई थप गति दिने तयारी निर्वाचन समितिको छ।