प्रदेश सरकारलाई अधिकारविहीन बनाएर संघीयता कसरी चल्छ ? : मुख्यमन्त्री भट्ट

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सरकारलाई संविधानले दिएको अधिकारसमेत पूर्ण रूपमा कार्यान्वयन नगरी संघीयता प्रभावकारी रूपमा अघि बढ्न नसक्ने बताएका छन्। प्रहरीसम्बन्धी अधिकार प्रदेश सरकारलाई नहुँदा प्रदेश सरकार ‘अपाङ्गसरह’ भएको टिप्पणी गर्दै उनले संघीयता कार्यान्वयनका लागि प्रदेशलाई अधिकार र जिम्मेवारी दुवै हस्तान्तरण गर्नुपर्ने बताएका हुन्।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीमा आयोजित ७१औँ प्रहरी दिवस समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री भट्टले प्रदेशको शान्तिसुरक्षा र अपराध नियन्त्रणमा प्रत्यक्ष भूमिका निर्वाह गर्ने प्रहरीसम्बन्धी अधिकार प्रदेश सरकारलाई दिनुपर्ने बताए।
‘प्रहरीसम्बन्धी अधिकार नभएकाले प्रदेश सरकार अपाङ्गसरह भएको छ । संविधानले दिएको अधिकार कार्यान्वयन हुनुपर्छ,’ उनले भने।
उनले प्रदेशलाई जिम्मेवारी मात्रै दिने तर आवश्यक अधिकार नदिने प्रवृत्तिले संघीयताको उद्देश्य पूरा नहुने बताए। प्रदेशको शान्तिसुरक्षा, अपराध नियन्त्रण र नागरिक सुरक्षाको जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न प्रहरी प्रशासनसम्बन्धी अधिकार प्रदेश तहमा हस्तान्तरण गर्नुपर्ने उनको भनाइ थियो।
मुख्यमन्त्री भट्टले प्रहरी संगठनलाई राजनीतिक हस्तक्षेपबाट मुक्त राख्दै व्यावसायिक, दक्ष र प्रविधिमैत्री बनाउनुपर्ने बताए। अनुसन्धान क्षमतालाई थप प्रभावकारी बनाउनुपर्ने उल्लेख गर्दै उनले प्रहरी संगठनमा भइरहेको सुधारलाई संस्थागत गर्नुपर्ने धारणा राखे।
नागरिकलाई सुरक्षाको अनुभूति दिलाउन नेपाल प्रहरीले महत्वपूर्ण भूमिका निर्वाह गरेको प्रशंसा गर्दै उनले निर्मला पन्त हत्या प्रकरण अझै टुंगोमा नपुग्नु दुःखद भएको बताए।
‘प्रहरी दक्ष हुँदाहुँदै पनि निर्मला पन्तको घटनाले पूर्णता नपाउनु दुःखद हो । उक्त घटनाका दोषी पत्ता लाग्नुपर्छ,’ उनले भने।
यस्ता घटना दोहोरिन नदिन प्रदेश सरकार प्रहरीसँग आवश्यक सहकार्य गर्न तयार रहेको उनले बताए। पछिल्लो समय साइबर अपराध, सामाजिक सञ्जालको दुरुपयोग र अनलाइन ठगीका घटना बढिरहेको भन्दै मुख्यमन्त्री भट्टले लागूऔषधको बढ्दो प्रयोगले युवाको जीवन बर्बाद गरिरहेको बताए।
खुला सीमाका कारण हुने आपराधिक गतिविधि नियन्त्रण गर्नु पनि प्रहरीको महत्वपूर्ण दायित्व रहेको उनको भनाइ थियो।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री खुसीराम थारूले प्रहरीलाई वीरताको प्रतीकका रूपमा चित्रण गरे। कानुनी राज्यको अनुभूति गराउने, दण्डहीनता रोक्ने र सुशासन कायम गर्ने कार्यमा प्रहरीले महत्वपूर्ण भूमिका निर्वाह गरेको उनले बताए।
प्रहरीकै कारण नागरिकले शान्ति र सुरक्षाको अनुभूति गर्न पाएको उल्लेख गर्दै मन्त्री थारूले प्रहरी कर्मचारीलाई उच्च मनोबलका साथ आफ्नो जिम्मेवारी निर्वाह गर्न आग्रह गरे।





प्रतिकृया दिनुहोस्