नेपाल टेलिकमको नयाँ अफर : ४ हजार ९९९ मै ३० एमबिपिएस इन्टरनेट

काठमाडौँ । सरकारी स्वामित्वको नेपाल टेलिकमले आजदेखि वार्षिक ४ हजार ९९९ रुपैयाँमै ३० एमबिपिएस गतिको इन्टरनेट सेवा उपलब्ध गराउने भएको छ।
निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकहरूले साना तथा सुलभ दरका इन्टरनेट प्याकेज बन्द गर्ने घोषणा गरिरहेका बेला नेपाल टेलिकमले भने सहुलियत दरमा नयाँ प्याकेज सार्वजनिक गरेको हो। टेलिकमका अनुसार ३० एमबिपिएस इन्टरनेट प्याकेजको वार्षिक शुल्क ४ हजार ९९९ रुपैयाँ तोकिएको छ।
‘फाइबर टु द होम’ (एफटीटीएच) अन्तर्गत एनटी फाइबर प्रयोगकर्ताका लागि वाइफाई–६ सहितका नयाँ प्याकेजसमेत ल्याइएको टेलिकमले जनाएको छ।
टेलिकमका प्रवक्ता डा। कमल लामिछानेका अनुसार वार्षिक इन्टरनेट तथा टेलिफोन प्याकेजअन्तर्गत १०० एमबिपिएसको ११ हजार ४९९ रुपैयाँ र १५० एमबिपिएसको १२ हजार ९९९ रुपैयाँ शुल्क तोकिएको छ।
त्यस्तै, २०० एमबिपिएस इन्टरनेटको वार्षिक शुल्क १६ हजार ४९९ रुपैयाँ निर्धारण गरिएको छ। वार्षिक प्याकेज लिने ग्राहकले दैनिक ८०० देखि १ हजार एमबीसम्म मोबाइल डेटा निःशुल्क प्राप्त गर्नेछन्।
नयाँ प्याकेज जडान गर्ने ग्राहकबाट ५ हजार रुपैयाँ जडान शुल्क नलिने व्यवस्था गरिएको टेलिकमले जनाएको छ। टेलिकमका यी सबै नयाँ अफर आजदेखि लागू हुनेछन्।



प्रतिकृया दिनुहोस्