राष्ट्रपति पौडेलले लगाए दसैँको टीका, १०ः२६ बजे ग्रहण गरे प्रसाद

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँको शुभसाइतमा टीका, जमरा र प्रसाद ग्रहण गरेका छन्।
राष्ट्रपति भवन शीतल निवासमा बुधबार बिहान १० बजेर २६ मिनेटको शुभसाइतमा राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट टीका, जमरा तथा प्रसाद ग्रहण गरेका हुन्।
टीका ग्रहण गरेपछि राष्ट्रपति पौडेलले प्रथम महिला सविता पौडेलसहित परिवारका सदस्यलाई पनि शुभसाइतमा टीका र जमरा लगाइदिएका छन्।
राष्ट्रपति पौडेलले गुरु पुरोहितबाट टीका तथा जमरा ग्रहण गरेको र त्यसपछि परिवारका सदस्यलाई टीका लगाइदिएको जानकारी राष्ट्रपतिको स्वकीय सचिवालयले दिएको छ।
विजयादशमीका अवसरमा आज देशभर मान्यजनबाट टीका, जमरा तथा आशीर्वाद ग्रहण गर्ने क्रम जारी छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्ष बिहान १०ः२६ बजे टीका लगाउने उत्तम साइत निर्धारण गरेको थियो।
विजयादशमी आफैँमा शुभ दिन भएकाले निर्धारित साइतमा टीका लगाउन नसक्नेले पनि आज दिनभरि आफ्नो अनुकूल समयमा मान्यजनबाट टीका, जमरा तथा आशीर्वाद ग्रहण गर्न सक्ने बताइएको छ।





प्रतिकृया दिनुहोस्