October 21, 2026, Wednesday
२०८३ कार्तिक ५

दसैंसँगै हराउँदैछ निरौलीको इतिहास : चार वर्षदेखि बन्द ‘राजसी दसैं’ र जीर्ण दरबार

धनगढी ।
‘ए, राम्भणा राठौः भो शिव भोस्सी,
ए, सुपरभणा राठौः भो शिव भोस्सी,
ए, बिषभण राठौः भो शिव भोस्सी,
ए, कालभणा राठौः भो शिव भोस्सी…।’

डोटीको जोरायल गाउँपालिका–६ स्थित निरौलीमा कुनै समय दसैंको माहोल यही सम्बोधन र पञ्चेबाजाको गुञ्जनले भरिन्थ्यो। राँगो, भोस्सी र चौलोको परम्परासँगै अष्टमीदेखि दशमीसम्म लाग्ने मेलामा गाउँ मात्रै होइन, आसपासका क्षेत्रबाट समेत मानिसको भीड लाग्थ्यो। तर, अहिले त्यो दृश्य इतिहासको सम्झनामा सीमित हुँदै गएको छ।

बसाइँसराइ, संरक्षणको अभाव र परम्परा धान्ने जनशक्तिको कमीले निरौलीको ऐतिहासिक ‘राजसी दसैं’ संकटमा परेको छ। पछिल्ला वर्षहरूमा मेला नै नियमित हुन छाडेपछि त्यससँग जोडिएको मौलिक संस्कृति र परम्परा पनि क्रमशः ओझेलमा पर्दै गएको स्थानीय बताउँछन्।

यस वर्ष भने स्थानीयस्तरबाटै रकम जुटाएर मेला सञ्चालन गर्ने तयारी भइरहेको छ। तर, लामो समयदेखि रोकिएको परम्परा पुनः पहिलेकै स्वरूपमा फर्काउने चुनौती भने उत्तिकै ठूलो छ।

राँगो, भोस्सी र चौलोको त्यो परम्परा

जोरायलका तीर्थराज भट्टलाई निरौली दसैंमा गएर भोस्सी खेलेको सम्झना अझै ताजै छ। उनका अनुसार निरौली दसैं केवल मनोरञ्जनको मेला थिएन, यसका आफ्नै मौलिक विधि र संस्कार थिए।

‘निरौली दसैंमा केही मौलिक परम्परा छन्,’ भट्ट भन्छन्, ‘बाबियोको मोटो डोरीले बाँधिएको राँगोलाई परम्परागत तरिकाले पूजा गरी पञ्चेबाजासँगै भगवती माणौँमा घुमाउने गरिन्छ।’

उनका अनुसार राँगोलाई पाँच फन्को घुमाउने क्रममा दुई फन्को राँगोबिनै चौलो खेल्ने र तीन फन्को राँगोसँगै भोस्सी खेल्दै अघि बढ्ने चलन थियो।

‘हल्ला र भीडको प्रहारबीच राँगो उफ्रिन थाल्दा राँगोमा भगवती चढेको भन्ने विश्वास गरिन्थ्यो,’ भट्ट सम्झिन्छन्, ‘परम्पराअनुसार भोस्सी र चौलो सम्पन्न भएपछि मात्रै राँगोको पूजा र बलि दिने चलन थियो।’

स्थानीयका अनुसार राँगोलाई लखेट्दै तोलीगडासम्म पुर्‍याइन्थ्यो। त्यहाँ खुकुरीले प्रहार गरिन्थ्यो। त्यहाँ पनि नढले गडसेरा चौकीगाडसम्म पुर्‍याउने चलन थियो। त्यसपछि राँगोको टाउको ल्याएर तोलीगडामा ‘गिरी खेल्ने’ परम्परा रहेको स्थानीय बताउँछन्।

‘राजसी दसैं’ किन भनियो ?

डोटेली संस्कृतिविद् तथा निरौलीकै स्थानीय निर्मलकुमार भण्डारीका अनुसार निरौली दसैं सामान्य मेला मात्र नभई ऐतिहासिक रूपमा राजकीय संरक्षण पाएको पर्व हो।

उनका अनुसार निरौली क्षेत्रको जग्गा सरकारी गुठीअन्तर्गत रहेको थियो। उक्त जग्गा भोगचलन गर्नेहरूबाट मालपोतसरह रकम संकलन गरिन्थ्यो र त्यही रकमबाट दसैं मेलाको पूजाआजा तथा राँगो खरिदको व्यवस्था मिलाइन्थ्यो।

‘अष्टमीदेखि दशमीसम्म भव्य मेला लाग्ने गर्थ्यो,’ भण्डारी भन्छन्, ‘वर्षौंअगाडिसम्म निरौली दसैंका लागि सरकारी बजेटसमेत विनियोजन हुन्थ्यो।’

उनका अनुसार मेलामा बलिका लागि रकम संकलन गर्दा नेपालका राजाको नामसमेत सम्बोधन गरिन्थ्यो। राजाबाट पनि मेलाका लागि रकम आउने गरेको उनी बताउँछन्।

‘बलि दिँदा राजाको नामसमेत सम्बोधन गरिन्थ्यो। राजाबाट पनि केही रकम दसैं मेलाका लागि आउँथ्यो,’ भण्डारी भन्छन्, ‘त्यसैले निरौलीको दसैंलाई राजसी दसैं भन्ने गरिएको हो। त्यो दसैं सुदूरपश्चिममै प्रख्यात थियो।’

भण्डारीका अनुसार डोटेली राजा निरैपालको पालादेखि निरौलीमा दसैं मेला सुरु भएको मानिन्छ। मेलामा विभिन्न समुदायको सहभागिता रहने गरेको र दलित समुदायले समेत महत्वपूर्ण अधिकार तथा भूमिका पाउने परम्परा रहेको उनी बताउँछन्।

दिउँसो गाउँको सिरानमा रहेका भागेश्वर र कामीक्षादेवीका मन्दिरमा पूजाआजा गरिन्थ्यो भने राति तोलीगडामा कार्यक्रम सञ्चालन हुने गर्थे।

बसाइँसराइले रित्तिँदै गाउँ, संकटमा परम्परा

निरौली दसैं ओझेलमा पर्नुको मुख्य कारणमध्ये तीव्र बसाइँसराइ रहेको भण्डारी बताउँछन्।

रोजगारी, शिक्षा र सुविधाको खोजीमा निरौलीका बासिन्दा कैलाली, कञ्चनपुर हुँदै काठमाडौंसम्म बसाइँ सरेपछि गाउँमा मेला सञ्चालन गर्ने जनशक्तिसमेत अभाव भएको उनको भनाइ छ।

स्थानीय ओमप्रकाश भण्डारी पनि बसाइँसराइका कारण गाउँ रित्तिँदै गएपछि निरौली दसैं संकटमा परेको बताउँछन्।

‘अहिले त गाउँमा गाउने र बजाउने मान्छे नै पाउन मुस्किल छ,’ उनी भन्छन्, ‘सबै सहर पसेपछि राजसी दसैं मनाउन निकै समस्या भइसकेको छ।’

उनका अनुसार जिल्ला विकास समिति हुँदासम्म दसैं मनाउन बजेट विनियोजन हुने गरेको थियो। केही वर्षसम्म जोरायल गाउँपालिकाले पनि दसैं मेलाका लागि सहयोग गरेको उनी सम्झन्छन्।

‘अहिले निरौलीका बासिन्दा कोही कैलाली, कोही कञ्चनपुर त कोही काठमाडौंमा बस्दै आएका छन्,’ उनी भन्छन्, ‘दसैं मनाउन उनीहरूबाट रकम संकलन गर्न पनि सम्भव भएन। त्यसैले मेलाको परम्परा पनि हराउन थालेको छ।’

जोरायल गाउँपालिका–६ का वडाध्यक्ष गणेशबहादुर बोहराका अनुसार केही वर्ष गाउँपालिकाले मेलाका लागि सहयोग गरेको थियो। तर, पछिल्ला वर्षमा बजेट विनियोजन हुन नसक्दा मेला पनि सञ्चालन हुन सकेन।

यस वर्ष भने स्थानीयस्तरबाटै रकम संकलन गरेर मेला सञ्चालन गर्ने तयारी भइरहेको उनले बताए।

राँगो बलिको कठोर परम्परा

निरौली दसैंमा राँगो बलि दिने परम्परा पनि विशिष्ट मानिन्थ्यो। स्थानीय ओमप्रकाश भण्डारीका अनुसार राँगोलाई लखेट्दै तोलीगडासम्म पुर्‍याइन्थ्यो र त्यहाँ खुकुरीले प्रहार गर्ने चलन थियो।

‘त्यहाँ पनि नढले राँगो गडसेरा चौकीगाडसम्म पुग्ने गर्थ्यो,’ उनी भन्छन्, ‘दानवको प्रतीक मानेर मारिएको राँगोको टाउको ल्याएर तोलीगडामा गिरी खेलिन्थ्यो।’

यो परम्परा अहिले भने हराउँदै गएको स्थानीय बताउँछन्। पुस्तान्तरण कमजोर हुँदै जाँदा यस्ता मौलिक सांस्कृतिक अभ्यास नयाँ पुस्तासम्म पुग्न नसकेको उनीहरूको भनाइ छ।

दसैंसँगै जीर्ण बन्दै निरौली दरबार

निरौलीको संकट दसैं मेलामा मात्रै सीमित छैन। यस क्षेत्रको ऐतिहासिक पहिचानसँग जोडिएको निरौली दरबारसमेत संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ।

स्थानीयका अनुसार तत्कालीन राजा निरैपाल मल्लले निर्माण गरेको मानिने उक्त दरबार लामो समयदेखि बेवास्तामा छ। दरबार क्षेत्रमा विक्रम संवत्को प्रारम्भतिरको मानिने शिलालेखसमेत रहेको स्थानीयको दाबी छ।

‘मासको गाह्रो लगाएर दरबार बनाइएको थियो,’ निर्मलकुमार भण्डारी भन्छन्, ‘निरौली क्षेत्रमा मासको उत्पादन बढी हुने भएकाले दरबारको गाह्रो मासले बनाइएको भनिन्थ्यो।’

स्थानीयका अनुसार दरबारसँग रहस्यमय शक्ति जोडिएको विश्वाससमेत छ। यही विश्वासका कारण अहिलेसम्म पनि कोही दरबारभित्र पस्न नसकेको उनीहरू बताउँछन्।

दरबारको संरक्षण नहुँदा ऐतिहासिक संरचना जीर्ण हुँदै गएको छ। मेला, मन्दिर, दरबार र त्यससँग जोडिएका सांस्कृतिक अभ्यास एउटै ऐतिहासिक विरासतका हिस्सा भए पनि संरक्षणको समग्र योजना बन्न सकेको छैन।

मेला फर्किएला, फर्किएला पुरानो निरौली ?

चार वर्षसम्म नियमित रूपमा सञ्चालन हुन नसकेको निरौली दसैं यस वर्ष स्थानीय पहलमा फेरि फर्काउने प्रयास भइरहेको छ। तर, मेला फर्काउनु मात्र पर्याप्त हुने देखिँदैन।

किनकि निरौलीको समस्या एउटा मेला बन्द हुनुमा सीमित छैन। यहाँको दरबार जीर्ण छ, गाउँबाट मानिस बाहिरिएका छन्, मौलिक सांस्कृतिक अभ्यास हराउँदै छन् र नयाँ पुस्तासँग परम्पराको सम्बन्ध कमजोर हुँदै गएको छ।

त्यसैले निरौलीको ‘राजसी दसैं’ जोगाउनु भनेको केवल दसैं मेला सञ्चालन गर्नु मात्रै होइन, त्यससँग जोडिएको इतिहास, संस्कृति, सामाजिक स्मृति र सम्पूर्ण सांस्कृतिक भूगोल जोगाउनु हो।

स्थानीय तहसँगै प्रदेश र संघीय सरकारले निरौलीलाई वार्षिक मेला आयोजनाको दृष्टिले मात्र नभई डोटेली इतिहास र सांस्कृतिक सम्पदाको संरक्षण क्षेत्रका रूपमा हेर्नुपर्ने आवश्यकता देखिन्छ।