आज नवरात्रको आठौँ दिन : महागौरीको पूजा आराधना गरिँदै, शक्तिपीठमा भक्तजनको भीड

काठमाडौं । बडादशैं एवं नवरात्रको आठौँ दिन आइतबार नवदुर्गामध्येकी आठौँ देवी महागौरीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। यस अवसरमा देशभरका दशैंघर तथा पूजाकोठामा महागौरीको पूजा, आराधना तथा स्तोत्र पाठ गर्ने परम्परा छ।
वैदिक सनातन परम्पराअनुसार प्रत्येक वर्ष आश्विन शुक्ल अष्टमी, अर्थात् दुर्गा पक्षको आठौँ दिन महागौरीको पूजा गरिन्छ। धार्मिक ग्रन्थमा महागौरीलाई सेतो वृषभमाथि सवार, गोरो वर्ण र श्वेत वस्त्र धारण गरेकी देवीका रूपमा वर्णन गरिएको छ।
नवरात्रको पहिलो दिन असोज २५ गते घटस्थापना गरी दशैंघर तथा पूजाकोठामा जमरा राखेर नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको पूजा गरिएको थियो। त्यसपछि क्रमशः दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी र सातौँ दिन कालरात्रिको पूजा गरिएको हो।
सातौँ दिन फूलपाती भित्र्याउने परम्पराअनुसार देशभरका दशैंघरमा फूलपाती भित्र्याइएको थियो। आज अष्टमीका दिन महागौरीको पूजा गरिएपछि नवरात्रको नवौँ दिन सिद्धिदात्री देवीको पूजा गरिन्छ।
नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थानमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत तथा विभिन्न देवी स्तोत्र पाठ गर्ने धार्मिक परम्परा छ। देवीको आराधना गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वासका आधारमा वैदिक सनातन धर्मावलम्बीले आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष पूजा आराधना गर्छन्।
नवरात्रका अवसरमा काठमाडौं उपत्यकासहित देशभरका विभिन्न शक्तिपीठ तथा देवी मन्दिरमा दर्शन र पूजाआजाका लागि भक्तजनको भीड बढेको छ।
नवरात्रका नौ दिन देवीको पूजा आराधना गरेपछि विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म देवीको प्रसादका रूपमा टीका र जमरा लगाउने परम्परा छ। यही परम्पराअनुसार नेपालीले बडादशैंलाई घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्म १५ दिनसम्म विशेष रूपमा मनाउने गर्छन्।




प्रतिकृया दिनुहोस्