दशैंका कारण सर्यो बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम

काठमाडौं । दशैंको सार्वजनिक बिदाका कारण यस वर्ष बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने कार्यक्रम सरेको छ।
स्वास्थ्य सेवा विभागका अनुसार पहिलो चरणको राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि वितरण कार्यक्रम कात्तिक १७ र १८ गते सञ्चालन हुने भएको छ।
सरकारले हरेक वर्ष पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउँदै आएको छ। तर, यस वर्ष कात्तिक २ र ३ गते दशैंको सार्वजनिक बिदा परेकाले पहिलो चरणको कार्यक्रम निर्धारित समयभन्दा पछि सारिएको विभागले जनाएको छ।
कार्यक्रमअन्तर्गत ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल तथा १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाइनेछ।
विभागले तोकिएको मितिमा आफ्ना बालबालिकालाई नजिकैको भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने केन्द्रमा लगेर औषधि खुवाउन अभिभावकलाई आग्रह गरेको छ।
बालबालिकामा भिटामिन ‘ए’ को कमी हुन नदिन तथा जुकाको संक्रमणबाट हुने स्वास्थ्य समस्याको जोखिम घटाउन सरकारले नियमित रूपमा राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि वितरण कार्यक्रम सञ्चालन गर्दै आएको छ।





प्रतिकृया दिनुहोस्