October 18, 2026, Sunday
२०८३ कार्तिक २

कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमामा चियापान कार्यक्रम नगर्ने

काठमाडौं । नेपाली कांग्रेसले यस वर्ष कोजाग्रत पूर्णिमाका अवसरमा आयोजना गर्दै आएको चियापान समारोह नगर्ने भएको छ। देश शोकमा रहेका बेला उत्सवका कार्यक्रम नगर्ने निर्णयअनुसार चियापान समारोह स्थगित गरिएको कांग्रेसले जनाएको छ।

कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले आइतबार जारी गरेको सूचनामा भोटेकोसीमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएको तथा बूढीगण्डकीमा आएको बाढीले समेत क्षति पुर्‍याएको उल्लेख गर्दै यस्तो दुःखद घडीमा चियापान कार्यक्रम आयोजना नगर्ने जनाइएको छ।

कांग्रेसले २०३४ सालदेखि कोजाग्रत पूर्णिमाका दिन चियापान समारोह आयोजना गर्दै आएको छ। २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएका कांग्रेसका संस्थापक नेता बीपी कोइरालाले आपसी सौहार्दता अभिवृद्धि तथा शुभकामना आदानप्रदान गर्ने उद्देश्यले चियापान समारोह सुरु गरेका थिए।

यसैबीच, कांग्रेस सभापति गगनकुमार थापाले शोकको घडीमा चाडपर्व मनाउँदा भड्किलो शैली अपनाउनुभन्दा शान्त र संयमित भएर परिवारमा सीमित रही मनाउन आग्रह गरेका छन्।

प्राकृतिक विपत्तिबाट प्रभावित परिवारप्रति ऐक्यबद्धता जनाउँदै कांग्रेसले यस वर्षको चियापान समारोह नगर्ने निर्णय गरेको हो।