October 27, 2026, Tuesday
२०८३ कार्तिक ११

‘नक्कली भगवान जन्मिएर हैरान पारेका छन्’ : केपी शर्मा ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समाजमा बढ्दो अन्धभक्ति र धार्मिक व्यक्तिप्रतिको अन्धानुकरणप्रति व्यङ्ग्य गर्दै ‘नक्कली भगवान जन्मिएर हैरान पारेको’ टिप्पणी गरेका छन्।

मदन भण्डारी स्मृति प्रतिष्ठानको स्मारिका लोकार्पण कार्यक्रममा बोल्दै ओलीले धार्मिक मान्यता, योग दर्शन र समाजमा देखिएको अन्धभक्तिको प्रवृत्तिमाथि टिप्पणी गरेका हुन्।

ओलीले पार्वतीले देवताहरूलाई श्राप दिएपछि देवताका सन्तान जन्मिने क्रम रोकिएको र त्यसपछि ‘नक्कली भगवान’ जन्मिन थालेको प्रसंग सुनाए। पछिल्लो समय धार्मिक आवरणमा आउने व्यक्तिप्रति सहजै अन्धभक्त हुने प्रवृत्तिमाथि पनि उनले व्यङ्ग्य गरे।

‘पार्वतीले श्राप दिएपछि फेरि भगवानहरू, नक्कली भगवान जन्मिएर हैरान छ। हामी आफैंले पनि अब दक्षिणतिरका जोगीहरू आए भनेदेखि ठ्याप्पै खुट्टा समातेर ढोग्न मन लागिहाल्ने त्यस्तो चलन छ,’ ओलीले भने।

उनले योगलाई समेत ईश्वरसँग जोडेर भ्रम सिर्जना गर्न खोजिएको दाबी गरे। अष्टाङ्ग योगका यम र नियमले हिंसा नगर्न, असत्य नबोल्न, सत्य बोल्न, शान्तिको बाटोमा हिँड्न तथा अरूको सम्पत्तिमा लोभ नगर्न सिकाउने उनको भनाइ थियो।

‘हिंसा नगर, असत्य नबोल, सत्य बोल, शान्तिको मार्गमा हिंड, सबैको सुरक्षा भन्छ। अस्तेय, अर्काको सम्पत्तिमा लोभ नगर। आफ्नो हकको, जायज हकको चिजमा बाहेक अन्त कुनै लोभ नगर भन्छ। हामीले खोजेकै त्यही त हो नि,’ उनले भने।

ओलीले पतञ्जलीको योग दर्शनसम्म आइपुग्दा योग ईश्वरवादसँग मिसिएको दाबी पनि गरे। उनका अनुसार सांख्य र प्रारम्भिक योग परम्परामा ईश्वरवादलाई केन्द्रमा राखिएको थिएन।

‘आदियोगी शिवले ईश्वरवादको कुरा गर्दैनन्, योगको कुरा गर्छन्। बलियो, स्वस्थ दिमाग, स्वस्थ शरीर राख। शिवको योगमा त्यो हुन्छ र सांख्य योगमा पनि त्यही हुन्छ,’ उनले भने।

योगले स्वस्थ शरीरसँगै स्वस्थ मस्तिष्कको विकासमा सहयोग गर्ने उल्लेख गर्दै ओलीले योग दर्शनमा रहेका अनुशासन र नैतिक मूल्यलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए।