October 27, 2026, Tuesday
२०८३ कार्तिक ११

चितवन राइनोजको रोमाञ्चक जित : विराटनगर किंग्स ८ रनले पराजित

काठमाडौं । चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा विराटनगर किंग्समाथि ८ रनको रोमाञ्चक जित निकालेको छ।

चितवनले दिएको १५८ रनको लक्ष्य पछ्याएको विराटनगर १९ ओभर ३ बलमा १४९ रनमै समेटियो। जितका लागि अन्तिम तीन ओभरमा २१ रन आवश्यक रहेको अवस्थामा लगातार विकेट गुमाएपछि विराटनगरको लक्ष्य पूरा गर्ने सम्भावना कमजोर बनेको थियो।

विराटनगरको इनिङ्स ध्वस्त पार्न चितवनका कमलसिंह ऐरी घातक बने। उनले ४ ओभरमा २६ रन खर्चेर ४ विकेट लिए। १८औं ओभरमा लगातार दुई विकेट लिएर उनले खेल चितवनको पक्षमा मोडे। रञ्जित कुमार, मौसम ढकाल, टम टेलर र डान मोस्लीले समान एक विकेट लिए।

विराटनगरका लागि आन्द्रे रसेलले आक्रामक ब्याटिङ गर्दै खेलमा फर्काउने प्रयास गरेका थिए। उनले १७ बलमा एक चौका र चार छक्कासहित ३३ रन बनाए। एन्जेलो म्याथ्युजसँग उनले २४ बलमा ४३ रनको साझेदारी गरेका थिए। म्याथ्युज १४ रनमा आउट भए। चरिथ असलंका ८ तथा बसिर अहमद १३ रनमा पभेलियन फर्किए।

ओपनर इम्रान शेखले ३९ रन बनाए। उनले लोकेश बमसँग पहिलो विकेटका लागि ४० रनको साझेदारी गरेका थिए। लोकेशले १४ बलमा २६ रन बनाए। शुभम रञ्जाने १० रनमा आउट हुँदा कप्तान सन्दीप लामिछाने खाता नखोल्दै पभेलियन फर्किए।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १५७ रन बनाएको थियो। ओपनर डाविड मलानले ५१ बलमा ७० रन बनाए। उनले देव खनालसँग पहिलो विकेटका लागि ५८ रनको साझेदारी गरेका थिए। देव १५ बलमा १२ रन बनाएर आउट भए।

विकेटकिपर ब्याटर अर्जुन साउद ९ बलमा ३ रन बनाएर आउट भए। उनलाई ११औं ओभरको अन्तिम बलमा एन्जेलो म्याथ्युजले कप्तान सन्दीप लामिछानेको हातबाट क्याच गराएका थिए। १३औं ओभरको दोस्रो बलमा आन्द्रे रसेलको बलमा मलान आउट भएपछि चितवनको इनिङ्स कप्तान रवि बोपारा र डान मोस्लीले सम्हाले।

रवि र डानले तेस्रो विकेटका लागि ६७ रनको अविजित साझेदारी गर्दै चितवनलाई बलियो योगफलसम्म पुर्‍याए। रवि ३२ तथा डान २९ रनमा अविजित रहे।

एनपीएलको आजको दोस्रो खेलमा जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच प्रतिस्पर्धा हुनेछ।