स्थापना दिवसमा तरुण दल कैलालीको मानवीय पहल : असहायलाई खाना, बिरामीलाई फलफूल

धनगढी । नेपाल तरुण दल कैलालीले आफ्नो स्थापना दिवस सामाजिक सेवामार्फत मनाएको छ। स्थापना दिवसको अवसरमा तरुण दलले असहायलाई खाना खुवाउनुका साथै सेती प्रादेशिक अस्पतालमा उपचाररत बिरामीलाई फलफूल वितरण गरेको हो।
तरुण दल कैलालीका अध्यक्ष नरेश कुँवरको नेतृत्वमा धनगढीका दुई स्थानमा परोपकारी कार्यक्रम आयोजना गरिएको थियो। दलले दृष्टि फाउण्डेसनमा आश्रित असहाय व्यक्तिलाई खाना खुवाएको थियो भने सेती प्रादेशिक अस्पतालमा उपचाररत बिरामीलाई फलफूल वितरण गरेको जनाएको छ।
स्थापना दिवसलाई सामाजिक सेवासँग जोड्दै असहाय तथा बिरामीलाई सहयोग गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको अध्यक्ष कुँवरले बताए। उनका अनुसार सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै तरुण दलले युवाहरूलाई सामाजिक सेवाका गतिविधिमा जोड्दै आएको छ।
अध्यक्ष कुँवरले नेपालको लोकतान्त्रिक आन्दोलनमा नेपाल तरुण दलको महत्वपूर्ण योगदान रहेको उल्लेख गर्दै युवाको ऊर्जा र क्षमतालाई समाजमा सकारात्मक परिवर्तन ल्याउने काममा प्रयोग गर्नुपर्ने बताए।
उनले आगामी दिनमा पनि सामाजिक सेवा तथा रचनात्मक गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा नेपाल तरुण दलका युवा नेता तथा कार्यकर्ताका साथै नेपाली कांग्रेसका विभिन्न तहका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो।





प्रतिकृया दिनुहोस्