October 27, 2026, Tuesday
२०८३ कार्तिक ११

सामाजिक विकास समितिका सभापति पाठकलाई नागरिक सवाल समेटिएको ध्यानाकर्षण पत्र

धनगढी । सुदूरपश्चिम प्रदेशका नागरिकका विभिन्न सवाल सम्बोधन गर्न माग गर्दै ‘सुदूरका आवाज’ (बहुसरोकारवाला नागरिक पैरवी मञ्च) ले सुदूरपश्चिम प्रदेशसभा सामाजिक विकास समितिका सभापति धर्मराज पाठकलाई ध्यानाकर्षण पत्र बुझाएको छ।

मञ्चको अगुवाइमा मंगलबार सभापति पाठकलाई नागरिकका विभिन्न सरोकार र सवाल समेटिएको ध्यानाकर्षण पत्र हस्तान्तरण गरिएको हो। नागरिकका मुद्दालाई प्रदेशसभामार्फत सम्बन्धित निकायसम्म पुर्‍याउने तथा तिनको सम्बोधनका लागि पहल गर्न ध्यानाकर्षण गराउने उद्देश्यले पत्र बुझाइएको मञ्चले जनाएको छ।

ध्यानाकर्षण पत्रमा विशेषगरी युवा तथा लक्षित वर्गसँग सम्बन्धित सवाललाई प्राथमिकताका साथ उठाइएको बताइएको छ। मञ्चले नागरिकका मुद्दालाई संस्थागत रूपमा उठाउँदै सम्बन्धित सरकारी निकाय र सरोकारवालाको ध्यानाकर्षण गराउँदै आएको जनाएको छ।

ध्यानाकर्षण पत्र हस्तान्तरण कार्यक्रममा मञ्चका सदस्यहरू पुष्पराज जोशी, निरङ्ग चौधरी, यमुना साउद र सुशीला धामी सहभागी थिए।

मञ्चका सदस्य पुष्पराज जोशीले नागरिकका सवाललाई सम्बन्धित निकायसम्म पुर्‍याएर कार्यान्वयनका लागि दबाब सिर्जना गर्ने उद्देश्यले अभियान अघि बढाइएको बताए।

‘युवा तथा लक्षित वर्गका सवाल समेटिएको ध्यानाकर्षण पत्र सरोकारवाला निकायलाई बुझाएर हामी उनीहरूलाई झकझकाउने काम गर्छौँ,’ जोशीले भने, ‘अहिलेसम्म प्रदेश सरकार मातहत रहेका मन्त्रालय तथा संसदीय समितिलाई पत्र बुझाएका छौँ। अब यसलाई पालिकासम्मै पुर्‍याएर ध्यानाकर्षण गराउने छौँ।’

मञ्चले प्रदेशका विभिन्न तहमा नागरिकका सवाल संकलन तथा पैरवी गर्दै सम्बन्धित निकायलाई जवाफदेही बनाउन निरन्तर अभियान सञ्चालन गर्ने जनाएको छ।