गगन नेतृत्वको कांग्रेसको पहिलो बैठक शुक्रबार : नयाँ कार्यदिशादेखि चुनावी रणनीतिसम्म छलफल

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको पहिलो बैठक कात्तिक १३ गते शुक्रबार बस्ने भएको छ। त्यसअघि कात्तिक १२ गते नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रम तय गरिएको छ।

केन्द्रीय निर्वाचन समितिका अनुसार नवनिर्वाचित सभापति गगनकुमार थापाले पदाधिकारी तथा सदस्यहरूलाई शपथग्रहण गराएपछि पहिलो केन्द्रीय कार्यसमिति बैठक बस्नेछ। यसअघि निर्वाचन समितिका सभापति प्रेमबहादुर खड्काले सभापति थापालाई पद तथा गोपनीयताको शपथ गराइसकेका छन्।

बाँकी पदाधिकारी तथा केन्द्रीय सदस्यलाई सभापति थापाले शपथ गराउने केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले जानकारी दिए।

सबै केन्द्रीय सदस्यले विचार राख्न पाउने

पहिलो बैठकमा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूले पालैपालो आफ्नो धारणा राख्न पाउने भएका छन्। बैठकमा पदाधिकारीलाई मात्रै बोल्न दिने कि सबै केन्द्रीय सदस्यलाई अवसर दिने भन्ने विषयमा छलफल भइरहेको कांग्रेसले जनाएको छ।

सबै सदस्यलाई बोल्ने अवसर दिने तयारी भए पनि समय अभाव हुनसक्ने भएकाले छोटो समय निर्धारण गर्ने तयारी छ। पहिलो बैठकमा सबैले बोल्न नभ्याए छठ पर्वपछि बस्ने अर्को बैठकमा बाँकी सदस्यलाई अवसर दिने तयारी गरिएको छ।

१५औँ महाधिवेशनबाट कांग्रेस केन्द्रीय कार्यसमितिमा ठूलो संख्यामा युवा नेतृत्व निर्वाचित भएकाले नयाँ पुस्ताको धारणा सुन्ने विषयलाई बैठकको प्राथमिकतामा राखिएको नेताहरूले बताएका छन्।

नयाँ कार्यदिशा र संगठनात्मक सुधारमा जोड

पहिलो बैठकले कांग्रेसको आगामी राजनीतिक तथा संगठनात्मक कार्यदिशाबारे छलफल गर्नेछ। महाधिवेशन सम्पन्न गर्न सहयोग गर्ने केन्द्रीय निर्वाचन समिति, राजनीतिक दल तथा विभिन्न पक्षलाई धन्यवाद ज्ञापन गरेपछि पार्टीको भावी रणनीतिबारे छलफल हुने जनाइएको छ।

पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले बैठकमा राख्ने सुझाव र धारणालाई समेत पार्टीको आगामी कार्यदिशामा समेट्ने तयारी छ। जेनजी आन्दोलनपछि सुधारको बाटोमा अघि बढेको कांग्रेसले नीति, संगठन र कार्यशैलीमा समेत परिवर्तन ल्याउने अपेक्षा गरिएको छ।

स्थानीय तहको निर्वाचन नजिकिँदै गएकाले निर्वाचनलाई केन्द्रमा राखेर पार्टीको संगठनात्मक तयारी, राजनीतिक रणनीति र आगामी कार्यक्रम तय गर्ने तयारी कांग्रेसको छ। सभापति थापाको नेतृत्वमा पार्टीले अघि बढाउने प्राथमिकता पनि यही बैठकबाट क्रमशः स्पष्ट हुने देखिएको छ।

मंसिरमा जिल्ला र प्रदेश अधिवेशन गर्ने तयारी

कांग्रेसले जिल्ला तथा प्रदेश अधिवेशन मंसिरमा गर्ने तयारी गरेको छ। कात्तिकमा तिहार र छठ पर्व पर्ने भएकाले मंसिरमा अधिवेशन गर्ने तयारी गरिएको हो। यद्यपि, अधिवेशनको औपचारिक मिति भने घोषणा भइसकेको छैन।

स्थानीय तहको निर्वाचनअघि नै जिल्ला तथा प्रदेश अधिवेशन सम्पन्न गर्ने कांग्रेसको तयारी छ। पहिलो केन्द्रीय कार्यसमिति बैठकमा यसबारे छलफल भए पनि मिति पहिलो बैठकमै तोक्ने वा छठपछिको बैठकबाट निर्णय गर्ने भन्ने विषय टुंगिन बाँकी छ।

स्थानीय तहको निर्वाचन कांग्रेसको प्राथमिकतामा

स्थानीय तहका निर्वाचित जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल आगामी वैशाख ३० गते पूरा हुँदैछ। सरकारले निर्वाचनको मिति घोषणा गरिसकेको छैन भने निर्वाचन आयोगले आन्तरिक तयारी अघि बढाएको छ।

आयोगसँगको परामर्शपछि सरकारले निर्वाचनको मिति तोक्नेछ। निर्वाचनलाई लक्षित गर्दै कांग्रेसले पनि आफ्नो संगठन सुदृढीकरण, जिल्ला–प्रदेश अधिवेशन र चुनावी रणनीति अघि बढाउने तयारी गरेको छ।