October 28, 2026, Wednesday
२०८३ कार्तिक १२

आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स भिड्दै, दुवैको नजर पहिलो जितमा

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा आज सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ। त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा हुने खेल अपराह्न ४ः३० बजे सुरु हुनेछ।

दुवै टोली प्रतियोगितामा पहिलो जितको खोजीमा छन्। सुदूरपश्चिमको यो दोस्रो खेल हो भने पोखराले आजबाट प्रतियोगिताको सुरुआत गर्दैछ।

सुदूरपश्चिम आफ्नो पहिलो खेलमा दोस्रो संस्करणको च्याम्पियन लुम्बिनी लायन्ससँग पराजित भएको थियो। त्यसैले आजको खेलमा सुदूरपश्चिम जितसहित अंकतालिकामा खाता खोल्ने लक्ष्यमा हुनेछ। पोखरा भने पहिलो खेलमै सुखद सुरुआत गर्ने योजनामा छ।

यसअघि प्रतियोगितामा भएका खेलमा चितवन राइनोज र कर्णाली याक्सले विजयी सुरुआत गरेका छन्। मंगलबार चितवनले विराटनगर किंग्सलाई तथा कर्णालीले जनकपुर बोल्ट्सलाई पराजित गरेका थिए।

हाल अंकतालिकामा लुम्बिनी लायन्स शीर्ष स्थानमा रहँदा कर्णाली याक्स दोस्रो र चितवन राइनोज तेस्रो स्थानमा छन्।

कर्णालीको १९ रनको जित

मंगलबार साँझ भएको खेलमा युनिस विक्रम ठकुरी र हुसेन तलातको घातक बलिङको मद्दतमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गरेको थियो।

कर्णालीले दिएको १३३ रनको लक्ष्य पछ्याएको पहिलो संस्करणको विजेता जनकपुर १९.३ ओभरमा ११३ रनमै अलआउट भयो।

जनकपुरको इनिङ्स सुरुदेखि नै दबाबमा परेको थियो। कर्णालीका बलरले नियमित अन्तरालमा विकेट लिएपछि जनकपुर लक्ष्यसम्म पुग्न सकेन।

विशेषगरी युनिस विक्रम ठकुरीले १५औँ ओभरमा लगातार दुई बलमा जिमी निशम र आदित्य महतालाई आउट गर्दै मेडन ओभर फ्याँकेपछि खेल कर्णालीको पक्षमा निर्णायक रूपमा मोडिएको थियो। त्यसअघि उनले कप्तान हरमित सिंहलाई पनि आउट गरेका थिए।

जनकपुरका लागि अभिषेक तिवारीले २०, हरमित सिंहले १९, मोइन अलीले १९ तथा जिमी निशमले १५ रन बनाए। तर तल्लो क्रमका ब्याटरले साथ दिन नसक्दा जनकपुर ११३ रनमै समेटियो।

कर्णालीका युनिस विक्रम ठकुरी र हुसेन तलातले समान तीन–तीन विकेट लिए। नन्दन यादवले दुई तथा सोमपाल कामीले एक विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १३२ रन बनाएको थियो। अरिफुल इस्लामले ४३ तथा पवन सर्राफले ३७ रन बनाए।

जनकपुरका १६ वर्षीय राहुल यादवले एनपीएलमा डेब्यू गर्दै चार ओभरमा १५ रन खर्चेर दुई विकेट लिए। जनकपुरको ट्यालेन्ट हन्टबाट छनोट भएका उनले दीपक डुम्रे र हुसेन तलातलाई आउट गरेका थिए। कप्तान हरमित सिंहले पनि तीन विकेट लिए।