‘इतिहासको ब्याज खान आएका होइनौँ, नयाँ इतिहास रच्छौँ’ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले पार्टीबाट टाढिएका असन्तुष्ट नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई पुनः कांग्रेसमा फर्काउने र नागरिकको विश्वास जित्ने अभियान सुरु गर्ने प्रतिबद्धता जनाएका छन्।
शनिबार १५औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित भएपछि पार्टी केन्द्रीय कार्यालय सानेपामा सम्बोधन गर्दै थापाले पार्टीभित्रको प्रतिस्पर्धा सकिएकाले अब सबै एकताबद्ध भएर अघि बढ्नुपर्ने बताए। उनले महाधिवेशनको मतगणनासँगै जित–हारको विषय पनि टुंगिनुपर्ने उल्लेख गर्दै अबको साझा लक्ष्य नागरिकको विश्वास जित्नु रहेको बताए।
‘यो महाधिवेशनको मतगणना सकिने कुरासँगै जय र पराजयको कुरा पनि सकिनुपर्छ। किनकि अब यहाँ हामी सबैले जित्ने हो। त्यो जित भनेको नागरिकको विश्वास जित्ने हो,’ उनले भने।
थापाले विगतमा पार्टीले गरेका कामप्रति असन्तुष्टि जनाउँदै कांग्रेसबाट टाढिएका नेता, कार्यकर्ता र शुभेच्छुकलाई पुनः पार्टीमा फर्काउने बताए। वर्षौँसम्म कांग्रेसलाई माया गरेका लाखौँ मानिसको विश्वास पुनः प्राप्त गर्न पार्टीले आफ्नो काम गर्ने शैली परिवर्तन गर्नुपर्ने उनको भनाइ थियो।
‘ती साथीहरूलाई नेपाली कांग्रेसको कार्यालय, नेपाली कांग्रेसको घर, नेपाली कांग्रेसको परिवारमा आउँ–आउँ लाग्ने बनाएर छाड्छौँ भन्ने संकल्पबाट हामी यात्रा प्रारम्भ गर्छौं,’ उनले भने।
उनले कांग्रेससँग गौरवशाली इतिहास भए पनि विगतको उपलब्धिमा मात्रै निर्भर भएर नबस्ने बताए। नयाँ पुस्ताको विश्वास जित्न विगतको इतिहास दोहोर्याउनेभन्दा नयाँ इतिहास निर्माण गर्ने गरी काम गर्नुपर्ने उनको भनाइ थियो।
‘नेपाली कांग्रेससँग गौरवशाली इतिहास छ, तर हामी इतिहासको ब्याज खान आएको होइन, हामी इतिहासलाई रटेर पनि बस्दैनौँ। हामी नयाँ इतिहास आफैँ रच्छौँ,’ थापाले भने।
सभापति थापाले किसान, उद्यमी, व्यवसायी र वैदेशिक रोजगारीमा रहेका नेपालीले आफ्नो समस्या सम्बोधन गर्ने पार्टीका रूपमा कांग्रेसलाई भरोसा गर्न सक्ने वातावरण बनाउने प्रतिबद्धता पनि जनाए। किसानका मुद्दा उठाउने, उद्यमीका गुमेका अवसर पुनःस्थापित गर्न पहल गर्ने र वैदेशिक रोजगारीमा रहेका नेपालीका परिवारका समस्यामा साथ दिने पार्टी बनाउने उनले बताए।
पार्टीभित्रको आन्तरिक लोकतन्त्रलाई जीवन्त राख्न महाधिवेशनमा भएको प्रतिस्पर्धा महत्त्वपूर्ण रहेको उल्लेख गर्दै थापाले सभापतिका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीसहित अन्य नेता तथा कार्यकर्तालाई पनि साथमा लिएर अघि बढ्ने बताए। पार्टीमा कोही पनि जिम्मेवारीविहीन नहुने उनको भनाइ थियो।
उनले कांग्रेस र नागरिकबीच कमजोर बनेको विश्वास पुनःस्थापित गर्न सबै नेता तथा कार्यकर्ता एक ठाउँमा उभिनुपर्नेमा जोड दिए। व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सामाजिक लोकतन्त्रका मान्यताअनुसार पार्टीलाई अघि बढाउनुपर्ने बताउँदै उनले बोलेर मात्र नभई काम गर्ने शैली परिवर्तन गरेर परिणाम देखाउनुपर्ने बताए।
महाधिवेशनबाट पारित प्रतिवेदन अध्ययन गर्न एक साताको समय दिइएको जानकारी दिँदै थापाले नेता तथा कार्यकर्ताबाट सुझाव प्राप्त भएपछि पहिलो केन्द्रीय कार्यसमिति बैठकबाट आगामी कार्ययोजना बनाइने बताए।
१५औँ महाधिवेशनबाट प्राप्त जिम्मेवारीलाई व्यवहारमा उतार्दै पार्टीप्रति नागरिकको विश्वास फर्काउने र कामबाट परिवर्तन प्रमाणित गर्ने लक्ष्यका साथ अघि बढ्ने उनको भनाइ थियो।





प्रतिकृया दिनुहोस्