October 9, 2026, Friday
२०८३ आश्विन २३

कैलालीमा ड्यूटीमै रहेका दुई प्रहरीमाथि कुटपिट, तीन जना पक्राउ

धनगढी । कैलालीमा ड्यूटीमा खटिएका नेपाल प्रहरीका दुई जना कर्मचारीमाथि कुटपिट गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

बिहीबार दिउँसो भजनी नगरपालिका–३ स्थित ठेकीपुर चोकमा भारतबाट मोटरसाइकलमा ल्याइँदै गरेको अवैध सामान नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि कुटपिट भएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेमा भजनी नगरपालिका–३ पडरियाका लोकबहादुर साउँद, धन्या साउद र गम्भीर साउद रहेका छन्। उनीहरूलाई इलाका प्रहरी कार्यालय भजनीमा कार्यरत प्रहरी हवल्दार विनयप्रसाद चौधरी र प्रहरी जवान देवराज जोशीमाथि कुटपिट गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाले जानकारी दिए।

प्रहरीका अनुसार कुटपिटबाट घाइते भएका हवल्दार चौधरी र जवान जोशीको भजनी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।

डीएसपी तिमिल्सिनाका अनुसार अवैध सामान ओसारपसारमा प्रयोग भएको आरोपमा से ४ प ११७१ र सु.प.प्र. ०१–०११ प ६४१ नम्बरका दुई वटा मोटरसाइकलसमेत प्रहरीले नियन्त्रणमा लिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।