October 9, 2026, Friday
२०८३ आश्विन २३

असोज २० देखि उम्मेदवार छनोट र सरकारका काम लिएर ७५३ वटै पालिका पुग्दै रास्वपा

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै असोज २० गतेदेखि देशभरका ७५३ पालिकामा अभियान सञ्चालन गर्ने भएको छ।

संघीय संसद्को चालु अधिवेशन अन्त्य भएपछि रास्वपाका प्रतिनिधिसभा सदस्य र केन्द्रीय सदस्यहरू पालिका–पालिका पुग्ने पार्टीले जनाएको छ। अभियानमा स्थानीय तहको नेतृत्व चयनदेखि सरकार र संसद्बाट भएका कामबारे नागरिकसँग संवाद गरिनेछ।

रास्वपा सहमहामन्त्री निशा डाँगीका अनुसार यसपटकको अभियान नागरिकका कुरा सुन्नेमा मात्रै सीमित हुने छैन। पार्टीका नीति, आगामी स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोटको प्रक्रिया तथा सरकारका कामबारे पनि नागरिकलाई जानकारी गराइनेछ।

‘हामी तपाईंका कुरा सुन्न मात्रै होइन, यसपटक हाम्रा केही कुरा भन्न र बुझाउन पनि तपाईंको घरदैलोमा आउँदैछौं,’ भिडियो सन्देश जारी गर्दै डाँगीले भनेकी छन्, ‘सम्पूर्ण केन्द्रीय सदस्य र सांसदहरू तपाईंको पालिकामा आउँदैछौं।’

उम्मेदवार छनोटको विधि बुझाउने

रास्वपाका अनुसार पालिका केन्द्रित अभियानका दुई मुख्य उद्देश्य छन्। पहिलो, स्थानीय तहको कामकारबाही र आगामी निर्वाचनमा उम्मेदवार छनोट गर्ने विधिबारे नागरिकलाई जानकारी गराउनु तथा दोस्रो, सरकार गठन भएयता संसद् र सरकारमार्फत भएका नीतिगत पहल तथा कामबारे जानकारी दिनु।

स्थानीय सरकार नागरिकको दैनिक जीवन र विकाससँग प्रत्यक्ष जोडिने भएकाले स्थानीय नेतृत्व छनोटको लोकतान्त्रिक प्रक्रियाबारे नागरिकसँग संवाद गरिने डाँगीले बताएकी छन्।

उनका अनुसार आगामी फागुनमा हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार छनोटका लागि रास्वपाले अघि सारेको विधिबारे पनि नागरिकलाई जानकारी गराइनेछ।

रास्वपाले यसअघि उम्मेदवार छनोटका लागि ‘क्यान्डिडेट क्लब’, ‘लिडरसिप एकेडेमी’ र लोकतान्त्रिक छनोट प्रक्रियाको अवधारणा अघि सारेको थियो।

सरकारका काम पनि सुनाउने

रास्वपाले अभियानमार्फत वर्तमान सरकार गठन भएको करिब छ महिनाको अवधिमा संसद् र सरकारबाट भएका नीतिगत पहल तथा नागरिकसँग गरिएका प्रतिबद्धताको कार्यान्वयन अवस्थाबारे जानकारी दिने जनाएको छ।

आगामी दिनका योजना र स्थानीय तहसँग सम्बन्धित विषयमा नागरिकसँग प्रत्यक्ष संवाद गर्ने तयारीसमेत पार्टीको छ।

‘अभियानअन्तर्गत हाम्रा सांसद तथा केन्द्रीय सदस्यहरू ७७ वटै जिल्लाका ७५३ वटै पालिकामा यही असोज २० गतेदेखि पुग्दै हुनुहुन्छ,’ डाँगीले भनेकी छन्, ‘यो अभियान केवल चुनावको तयारी मात्रै होइन, स्थानीय सरकारलाई अझ बढी जवाफदेही बनाउने र नागरिककै सहभागितामा नेतृत्व स्थापित गर्ने लोकतान्त्रिक अभ्यास पनि हो।’