October 9, 2026, Friday
२०८३ आश्विन २३

पोखरामा स्कुल बस दुर्घटना : चार विद्यार्थीसहित पाँच जनाको मृत्यु, २० घाइते

पोखरा । पोखरामा स्कुल बस दुर्घटना हुँदा चार विद्यार्थीसहित पाँच जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–२८ माझठानामा शुक्रबार बिहान कालिका इङ्लिस बोर्डिङ स्कुलको बस सडकबाट करिब २०० मिटर तल खसेको हो ।

दुर्घटनामा चार विद्यार्थी र उपचारका लागि लिफ्ट मागेर बस चढेका एक स्थानीयको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । दुर्घटनामा अन्य २० जना घाइते भएका छन् ।

कास्की प्रहरीका अनुसार पोखरा महानगरपालिका–२८ माझठानाबाट कालिकातर्फ आउँदै गरेको ग २ ख १४१७ नम्बरको बस दुर्घटनामा परेको हो । बसमा ट्युसन पढ्न जाँदै गरेका विद्यार्थी, चालक र लिफ्ट मागेर चढेका स्थानीय सवार थिए ।

दुर्घटनामा मृत्यु हुनेमा पोखरा–२८ का बाबुराम तिवारी (६५), विद्यार्थी ममता तिवारी (१२–१३ वर्ष) र अशिम कँडेल (१३–१४ वर्ष) रहेका छन् । अन्य दुई विद्यार्थीको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

गण्डकी अस्पतालमा उपचारका क्रममा बिहान ८ः३५ बजे ममता, अशिम र बाबुरामलाई मृत घोषणा गरिएको अस्पतालले जनाएको छ । अन्य दुई विद्यार्थीको पहिचान खुलाउने तथा दुर्घटनामा घाइते भएकाहरूको उपचारसम्बन्धी प्रक्रिया अघि बढाइएको छ ।

घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको गण्डकी अस्पताल र गण्डकी मेडिकल कलेजमा घाइतेहरूको उपचार भइरहेको छ । घाइते हुनेमा अधिकांश विद्यार्थी छन् भने बस चालक तुलबहादुर गुरुङ पनि घाइते भएका छन् ।

दुर्घटनाको खबर पाएपछि प्रहरी तथा अन्य उद्धारकर्मी घटनास्थल पुगेका थिए । उद्धारका क्रममा इलाका प्रहरी कार्यालय शिशुवामा कार्यरत प्रहरी जवान अर्जुन शाहीसमेत सामान्य घाइते भएका छन् । उनको पश्चिम क्षेत्रीय गण्डकी अस्पतालमा उपचार भइरहेको छ ।

दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।