October 8, 2026, Thursday
२०८३ आश्विन २२

कांग्रेस महाधिवेशन : आज मतदान नहुने, भोलि बिहान ७ बजेदेखि हुने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि आज हुने भनिएको मतदान स्थगित भएको छ। अब मतदान भोलि बिहान ७ बजेदेखि सुरु गर्ने गरी निर्वाचन कार्यतालिका संशोधन गरिएको निर्वाचन समितिले जनाएको छ।

यसअघि बिहान १० बजेबाट मतदान सुरु गर्ने कार्यतालिका थियो। तयारी पूरा नभएको भन्दै मतदानको समय दिउँसो २ बजेसम्म सारिएको थियो। तर, निर्धारित समयसम्म पनि मतदान सुरु हुन नसकेपछि निर्वाचन समितिले पुनः समय परिवर्तन गर्दै भोलि बिहान ७ बजेबाट मतदान सुरु गर्ने निर्णय गरेको हो।

महाधिवेशन प्रतिनिधिको प्रदेश तथा प्रतिनिधित्वका आधारमा मतदानका लागि छुट्टाछुट्टै केन्द्रको व्यवस्था गरिएको छ। संशोधित निर्वाचन कार्यतालिकाअनुसार बागमती प्रदेशका प्रतिनिधिले राष्ट्रिय सभा गृहमा रहेको मतदान केन्द्र ‘क’ बाट मतदान गर्नेछन्।

खुलामञ्चमा रहेको मतदान केन्द्र ‘ख’ मा कोशी प्रदेश तथा तराई–मधेश समूहका प्रतिनिधिका लागि मतदानको व्यवस्था गरिएको छ।

त्यस्तै, गण्डकी प्रदेशका प्रतिनिधिले खुलामञ्चस्थित हिमाल हल बाट मतदान गर्नेछन् भने मधेस प्रदेशका प्रतिनिधिका लागि तराई–मधेश हल तोकिएको छ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश, नेपाली जनसम्पर्क समिति तथा भ्रातृ संस्थातर्फका प्रतिनिधिले खुलामञ्चस्थित पहाड हल बाट मतदान गर्ने निर्वाचन समितिले जनाएको छ।

निर्वाचन समितिले मतदानस्थलमा प्रवेश गरेपछि प्रतिनिधिहरूलाई आफूलाई तोकिएको प्रदेश तथा समूहको मतदान केन्द्रमा गई मतदान गर्न आग्रह गरेको छ। मतदानअघि प्रतिनिधिको परिचयपत्र र मतदाता नामावली रुजु गरिनेछ।

निर्वाचन समितिका अनुसार मतदानस्थलमा मोबाइल फोनलगायत निर्वाचन आचारसंहिताले निषेध गरेका सामग्री लिएर प्रवेश गर्न पाइने छैन। प्रतिनिधिले निर्वाचन समितिले तोकेको आवश्यक प्रक्रिया पूरा गरेपछि मात्रै मतदान गर्न पाउनेछन्।