कांग्रेस देउवा समूहको अधिवेशन प्रक्रिया तीव्र, ८० प्रतिशत वडा सकियो: दशैँअघि क्षेत्रीय अधिवेशन गर्ने

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन पक्षले १५औँ महाधिवेशन अघि बढाइरहेका बेला इतर समूहले पनि छुट्टै महाधिवेशनको तयारी तीव्र बनाएको छ। इतर समूहले दशैँअघि नै प्रदेश सभा निर्वाचन क्षेत्रसम्मका अधिवेशन सम्पन्न गर्ने जनाएको छ।
१५औँ महाधिवेशनअन्तर्गत वडा अधिवेशनको करिब ८० प्रतिशत काम सम्पन्न भइसकेको र अहिले पालिका अधिवेशनहरू भइरहेको नेता किरणराज पौडेलले जानकारी दिए।
उनका अनुसार दशैँअघि सबै प्रदेश सभा निर्वाचन क्षेत्रीय अधिवेशन सम्पन्न गर्ने तयारी छ। ‘हालसम्म वडाहरूको ८० प्रतिशत अधिवेशन सकेर पालिकाहरूको अधिवेशन भइरहेको छ। दशैँअघि नै सबै क्षेत्रको क्षेत्रीय अधिवेशन सम्पन्न हुनेछ,’ पौडेलले भने।
देउवा समूहले तय गरेको कार्यतालिकाअनुसार यही असोज २० गते पालिका अधिवेशन, असोज २३ गते प्रदेश सभा निर्वाचन क्षेत्रीय अधिवेशन र मंसिर ४ गते प्रदेश अधिवेशन गर्ने तयारी छ। यही प्रक्रियाबाट मंसिर २१ देखि २३ गतेसम्म छुट्टै महाधिवेशन गर्ने उसको तयारी छ।
इतर समूहले काठमाडौं महानगरपालिकाको नगर अधिवेशन पनि बिहीबार गर्दैछ। समूहका अनुसार ७७ वटै जिल्लामा केन्द्रीय निर्वाचन समितिका तर्फबाट निर्वाचन अधिकृत खटिएर अधिवेशनको काम अघि बढाइरहेका छन्।
अर्का नेता गुरुराज बरालले निर्धारित कार्यतालिकाअनुसार अधिवेशन सम्पन्न गरी पार्टीलाई सुदृढ ढंगले अघि बढाउने दाबी गरे। ‘७७ वटै जिल्लामा केन्द्रीय निर्वाचन समितिका तर्फबाट निर्वाचन अधिकृतले काम गरिरहेका छन्। तोकिएको मितिमा महाधिवेशन गरेर पार्टीलाई सुदृढ ढंगले अगाडि बढाउँछौँ,’ उनले भने।
बरालले संस्थापन समूहले अघि बढाएको महाधिवेशनप्रति भने आलोचना गरेका छन्। उनले त्यसलाई ‘क्लब’ को संज्ञा दिँदै भविष्यमा उक्त समूह खुम्चिएर सानो आकारमा सीमित हुने दाबी गरे।
‘बग्रेल्ती पद थप्ने र विशेष महाधिवेशनका अगुवाहरूले आफू पराजित हुने डरले आफ्नो पद आफैँ सिर्जना गरेर सुरक्षित रहने काम गरेका छन्। यस्तो कामलाई लोकतान्त्रिक चरित्रको मान्न सकिँदैन,’ बरालले भने।
कांग्रेसको आधिकारिकतासम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकै अवस्थामा पार्टीका दुवै समूहले आ–आफ्नै प्रक्रियाबाट महाधिवेशन अघि बढाइरहेका छन्। अदालतमा विवाद विचाराधीन भए पनि दुवै पक्ष आफ्नो निर्णयबाट पछि हटेका छैनन्।




प्रतिकृया दिनुहोस्