October 8, 2026, Thursday
२०८३ आश्विन २२

स्थानीय तह निर्वाचनको तयारीमा आयोग, ‘प्रदेश र स्थानीय चुनाव एकैसाथ हुन्छ भनेर भन्न सकिँदैन’

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचन आयोग स्थानीय तहको आगामी निर्वाचनको आन्तरिक तयारीमा जुटिसकेको बताएका छन्।

राष्ट्रिय समाचार समिति (रासस) का प्रतिनिधिमण्डलसँग बिहीबार आयोगमा भएको अनौपचारिक छलफलमा कार्कीले निर्वाचनको मिति सरकारले तोक्ने भए पनि आयोग निर्वाचनका लागि निरन्तर तयारी अवस्थामा रहने बताए।

स्थानीय तहको आगामी निर्वाचन फागुनमै गर्नेगरी सरकार अघि बढेको भन्ने समाचारबारे सोधिएको प्रश्नमा उनले अहिले नै निर्वाचनको मिति तोक्ने विषयमा आयोगले धारणा सार्वजनिक गर्न नमिल्ने बताए। संवैधानिक व्यवस्थाअनुसार आयोगसँगको परामर्शमा सरकारले निर्वाचनको मिति घोषणा गर्ने उनको भनाइ थियो।

कार्कीले स्थानीय तहलाई लामो समयसम्म जनप्रतिनिधिविहीन अवस्थामा राख्न नहुने बताए। ‘लामो समयसम्म स्थानीय निकाय खाली राख्नुहुन्न भन्ने पक्षमा छौँ। त्यसैअनुसार हाम्रो तयारी पनि भइरहेको छ,’ उनले भने।

स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल आगामी वैशाखमा सकिने भएकाले त्यसको आसपास तथा संवैधानिक व्यवस्थाअनुसार निर्वाचन हुने उनले स्पष्ट पारे।

स्थानीय तह र प्रदेशको निर्वाचन एकैसाथ गर्नेगरी आयोगले तयारी थालेको हो कि भन्ने प्रश्नमा कार्कीले संवैधानिक तथा कानुनी व्यवस्थाअनुसार नै निर्वाचन हुने बताए। अहिले नै दुवै तहको निर्वाचन एकैसाथ हुने निष्कर्षमा पुग्न नसकिने उनको भनाइ थियो।

‘हाम्रो संवैधानिक संरचना र कानुनी प्रावधानअनुरूप नै निर्वाचन हुने हो। त्यसमा हाम्रो आवश्यकताको पनि कुरा छ। त्यसैले अहिले नै चुनाव एकैसाथ हुन्छ भनेर भन्न सकिँदैन,’ उनले भने, ‘सरकारले मिति घोषणा गरेअनुसार नै हामीले काम गर्ने हो।’

छलफलका क्रममा निर्वाचन आयोग र राससबीचको सम्बन्ध, सहयोग तथा सहकार्यासहित समसामयिक विषयमा पनि कुराकानी भएको थियो। छलफलमा निर्वाचन आयुक्त सगुन शमशेर जबरा र ध्रुवराज वाग्ले सहभागी थिए।

राससका तर्फबाट महाप्रबन्धक सन्दीप राई, प्रधानसम्पादक उत्तम सिल्वाल, प्रमुख समाचारदाता एकराज पाठक, आलेख समाचार शाखा प्रमुख कृष्ण अधिकारी र निमित्त प्रशासन प्रमुख भरत केसी सहभागी थिए।