चेकजाँचका क्रममा मोटरसाइकलको ठक्करबाट हवलदारसहित तीन प्रहरी घाइते

धनगढी । धनगढीमा बुधबार साँझ संयुक्त सवारी चेकजाँचका क्रममा मोटरसाइकलले ठक्कर दिँदा तीन जना प्रहरी घाइते भएका छन्।
घाइते हुनेमा प्रहरी हवलदार उज्जवल सिंह साउद तथा सहायक हवलदार राधिका शाही र कमला खत्री रहेका छन्। उनीहरू धनगढीस्थित प्रहरी गणमा कार्यरत छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाका अनुसार नेपाल प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोलीले नेपाल प्रहरीको पेट्रोल पम्पनजिक सवारीसाधन चेकजाँच गरिरहेका बेला कञ्चनपुरको पुनर्वास नगरपालिका–११ का आशिष चौधरीले चलाएको से ३ प ८९५० नम्बरको मोटरसाइकलले उनीहरूलाई ठक्कर दिएको हो।
प्रहरीका अनुसार चौधरीले मादक पदार्थ सेवन गरी तीव्र गतिमा मोटरसाइकल चलाएका थिए। चेकजाँचका क्रममा मोटरसाइकल रोक्न खोज्दा उनले प्रहरीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ।
दुर्घटनामा घाइते तीनै जनाको धनगढीस्थित नवजीवन अस्पतालमा उपचार भइरहेको छ। हवलदार साउदलाई आईसीयूमा राखेर उपचार भइरहेको छ भने सहायक हवलदार शाही र खत्रीको जनरल वार्डमा उपचार भइरहेको छ। खत्रीको टाउको र खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ।
घटनापछि मोटरसाइकल चालक चौधरीलाई प्रहरीले पक्राउ गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।




प्रतिकृया दिनुहोस्