October 8, 2026, Thursday
२०८३ आश्विन २२

एमाले स्थायी कमिटीको पहिलो बैठक सुरु, ११ वर्षपछि पार्टी बैठकमा विद्या भण्डारी सहभागी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनपछि गठित स्थायी कमिटीको पहिलो बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ।

बैठकमा पूर्वराष्ट्रपति एवं वरिष्ठ नेता विद्यादेवी भण्डारी पहिलोपटक एमालेको बैठकमा सहभागी भएकी छन्। पार्टी कार्यालयमा वरिष्ठ नेताको पदमा शपथ लिएपछि स्थायी कमिटी बैठक औपचारिक रूपमा सुरु भएको हो।

हालै बसेको केन्द्रीय कमिटी बैठकले ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, काशीनाथ अधिकारी, देवराज घिमिरे, शिवमाया तुम्बाहाम्फे, लालबाबु पण्डित र थममाया थापालाई स्थायी कमिटी सदस्य चयन गरेको थियो।

बैठकमा मुलुकको समसामयिक राजनीतिक अवस्था, पार्टीको आगामी कार्यदिशा तथा संगठनात्मक गतिविधिबारे छलफल हुने जनाइएको छ। आगामी स्थानीय तह निर्वाचनको तयारीका विषयमा समेत बैठकले आवश्यक निर्णय गर्नेछ।

केन्द्रीय कमिटीको तेस्रो बैठकले सचिवालयलाई प्रत्यायोजन गरेका एजेन्डामाथि स्थायी कमिटीमा छलफल गरी आवश्यक निर्णय गर्ने कार्यसूची रहेको एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिए।

भण्डारीलाई असोज ५ देखि ८ गतेसम्म बसेको एमाले केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेतामा मनोनीत गरेको थियो। राष्ट्रपति भएपछि २०७२ सालदेखि उनी एमालेका औपचारिक पार्टी बैठकमा सहभागी भएकी थिइनन्। दुई कार्यकाल पूरा गरी २०७९ सालमा राष्ट्रपति पदबाट निवृत्त भएपछि उनी पुनः सक्रिय राजनीतिमा फर्किने तयारीमा थिइन्।

गत जेठमा बसेको एमाले केन्द्रीय पदाधिकारी बैठकले पेन्डिङमा रहेको भण्डारीको पार्टी सदस्यता फुकुवा गरेपछि उनी एमाले राजनीतिमा पुनः सक्रिय भएकी हुन्। आजको स्थायी कमिटी बैठकमा उनको सहभागितासँगै पार्टीभित्र उनको औपचारिक सक्रिय राजनीतिक भूमिकाको सुरुआत भएको छ।