October 24, 2026, Saturday
२०८३ कार्तिक ८

कैलाली कांग्रेस सभापतिमा नृपबहादुर सुनारले गरे उम्मेदवारी घोषणा

धनगढी । नेपाली कांग्रेस कैलालीका सचिव तथा १५औँ महाधिवेशन प्रतिनिधि नृपबहादुर सुनारले जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गरेका छन्।

कैलाली क्षेत्र नम्बर ५ बाट १५औँ महाधिवेशन प्रतिनिधिमा ३६४ मतसहित निर्वाचित भएपछि सुनारले जिल्ला सभापतिमा उम्मेदवारी घोषणा गरेका हुन्। क्षेत्र नम्बर ५ को खुलातर्फ १० जना महाधिवेशन प्रतिनिधिका लागि भएको निर्वाचनमा उनले उक्त मत प्राप्त गरेका थिए।

उम्मेदवारी घोषणा गर्दै सुनारले आफ्नो राजनीतिक यात्रा २०५१ सालमा नेपाल विद्यार्थी संघको साधारण सदस्यबाट सुरु भएको बताएका छन्। नेविसंघ र नेपाल तरुण दल हुँदै कांग्रेसको जिल्ला तथा प्रदेश तहमा विभिन्न जिम्मेवारी सम्हालेको उनले उल्लेख गरेका छन्।

१४औँ महाधिवेशनबाट कैलाली कांग्रेसको जिल्ला सचिवमा निर्वाचित भएको र त्यसअघि प्रशिक्षण तथा संगठन निर्माणका क्षेत्रमा काम गरेको अनुभवलाई उनले जिल्ला नेतृत्वको आधारका रूपमा प्रस्तुत गरेका छन्। राजनीतिक आन्दोलनका क्रममा गिरफ्तारी र जेल जीवनसमेत भोगेको उल्लेख गर्दै उनले कांग्रेसलाई निर्वाचनकेन्द्रित संगठनका रूपमा मात्र नभई लोकतन्त्र, नागरिक अधिकार र सामाजिक न्यायका मुद्दामा निरन्तर सक्रिय राजनीतिक शक्तिका रूपमा अघि बढाउने बताएका छन्।

सुनारले आफ्नो नेतृत्वमा कैलाली कांग्रेसलाई सक्रिय, समावेशी, व्यवस्थित र जनतासँग निरन्तर जोडिएको संगठन बनाउने दाबी गरेका छन्। वडा तहदेखि जिल्ला तहसम्म संगठनको अवस्थाको अध्ययन गरी स्थानीय आवश्यकता र प्राथमिकताका आधारमा कार्यक्रम तथा कार्ययोजना निर्माण गर्ने उनको भनाइ छ।

उनले पार्टी र जनताबीच निरन्तर संवादलाई प्राथमिकतामा राख्दै रोजगारी, उद्यमशीलता, शिक्षा, स्वास्थ्य, सीमा क्षेत्रका समस्या, नदी कटान, बाढी–डुबान तथा जलवायु परिवर्तनजन्य जोखिमलाई जिल्ला कांग्रेसका प्रमुख सरोकारका विषय बनाउने बताएका छन्।

विगतमा कांग्रेससँग जोडिएर विभिन्न कारणले पार्टीबाट टाढिएका नेता–कार्यकर्ता तथा नागरिकसँग पुनः संवाद अघि बढाउने योजना पनि उनले अघि सारेका छन्। पार्टीप्रति प्रश्न र आलोचना गर्ने नागरिकको आवाजलाई समेत सुन्ने राजनीतिक संस्कार विकास गर्नुपर्नेमा उनले जोड दिएका छन्।

“पार्टी कार्यालयमा बसेर मात्र राजनीति हुँदैन, पार्टी र जनताबीच निरन्तर संवाद र जनसरोकारका विषयमा सक्रिय भूमिका आवश्यक छ,” सुनारको उम्मेदवारी घोषणा वक्तव्यमा उल्लेख छ।

जिल्ला सभापतिको जिम्मेवारी राजनीतिक र संगठनात्मक रूपमा महत्वपूर्ण रहेको बताउँदै सुनारले त्यसको दायित्व र जिम्मेवारीबारे आफू जानकार रहेको बताएका छन्। उनले जिल्ला नेतृत्वका लागि नेता, कार्यकर्ता, शुभेच्छुक तथा कांग्रेसजनसँग सहयोग र समर्थनको अपेक्षा गरेका छन्।