एक घण्टा ढिलो गरी कांग्रेस महाधिवेशनको मतदान सुरु, खुलामञ्चमा अव्यवस्थित व्यवस्थापन

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि शुक्रबार बिहान एक घण्टा ढिलो गरी मतदान सुरु भएको छ। मतदानका लागि खुलामञ्चमा गरिएको व्यवस्थापन अव्यवस्थित हुँदा महाधिवेशन प्रतिनिधिहरूले सास्ती व्यहोर्नुपरेको छ।
बिहान ७ बजेदेखि मतदान सुरु हुने कार्यतालिका रहे पनि आवश्यक तयारी पूरा नहुँदा करिब एक घण्टा ढिलाइ भएको हो। मतदान सुरु भएपछि खुलामञ्चमा प्रतिनिधिहरू मत खसाल्न प्रवेश गर्ने क्रममा ठेलमठेल भएको छ। मतदानस्थलमा प्रतिनिधिको आवागमन व्यवस्थित हुन नसक्दा व्यवस्थापनमा समस्या देखिएको हो।
मतदानको पहिलो मत कास्की क्षेत्र नम्बर २ का ८१ वर्षीय महाधिवेशन प्रतिनिधि शोभाचन्द्र बरालले खसालेका छन्।
नयाँ नेतृत्व चयनका लागि महाधिवेशनमा सहभागी ७ हजार २५५ जना प्रतिनिधिले मतदान गर्नेछन्। सभापति पदमा गगन थापा र श्यामकृष्ण खड्गीबीच प्रतिस्पर्धा हुँदैछ।
यसअघि बिहीबारका लागि तय भएको मतदान मतपत्र छपाइमा ढिलाइ र आवश्यक प्राविधिक तयारी पूरा नभएका कारण रोकिएको थियो। तयारी पूरा भएपछि शुक्रबार मतदान अघि बढाइएको निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता प्रेमबहादुर खड्काले जानकारी दिएका छन्।
मतदानका लागि खुलामञ्चमा छ प्रदेश र विदेशस्थित नेपाली जनसम्पर्क समितिबाट निर्वाचित प्रतिनिधिका लागि व्यवस्था मिलाइएको छ। बागमती प्रदेशका प्रतिनिधिहरूले भने प्रदर्शनी मार्गस्थित राष्ट्रिय सभागृहमा मतदान गर्ने व्यवस्था गरिएको छ।
मतदानबाट कांग्रेसको नयाँ सभापतिसहित केन्द्रीय कार्यसमिति चयन हुनेछ।



प्रतिकृया दिनुहोस्