October 9, 2026, Friday
२०८३ आश्विन २३

काठमाडौं-धनगढी हवाई भाडामा सहुलियत दिन कैलाली उद्योग वाणिज्य संघको माग

धनगढी । काठमाडौं–धनगढी हवाई सेवाको चर्को भाडाले सुदूरपश्चिमका नागरिक, उद्योगी, व्यवसायी तथा निजी क्षेत्र आर्थिक मारमा परेको भन्दै कैलाली उद्योग वाणिज्य संघले सरकारसँग हवाई भाडामा सहुलियत दिन माग गरेको छ ।

संघका अध्यक्ष पुष्करराज ओझाले जिल्ला प्रशासन कार्यालय कैलालीमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र पठाउँदै काठमाडौं–धनगढी हवाई सेवामा विशेष सहुलियतसहित नियमित र सहज उडानको व्यवस्था गर्न माग गरेका हुन् ।

संघले सुदूरपश्चिम भौगोलिक रूपमा राजधानी काठमाडौंभन्दा टाढा रहेकाले यहाँका नागरिकका लागि हवाई सेवा विलासिताको साधन नभई अत्यावश्यक यातायातको माध्यम भएको जनाएको छ । उपचार, परीक्षा, आकस्मिक काम, रोजगारी, व्यापार–व्यवसाय तथा चाडपर्वमा घर फर्किनुपर्ने नागरिकका लागि हवाई सेवा महत्त्वपूर्ण विकल्प बनेको संघको भनाइ छ ।

तर, काठमाडौं–धनगढी हवाई भाडा अत्यधिक महँगो हुँदा सुदूरपश्चिमका नागरिकले अनावश्यक आर्थिक भार व्यहोर्नुपरेको संघले जनाएको छ । विशेषगरी चाडपर्वका बेला हवाई भाडा झनै बढ्ने प्रवृत्तिले सामान्य आय भएका नागरिकलाई हवाई यात्रा कठिन बन्दै गएको संघको ठहर छ ।

संघका अनुसार सामान्य अवस्थामा काठमाडौं–धनगढी हवाई भाडा करिब १० हजार ८ सय रुपैयाँ आसपास रहने गरेको छ । तर, चाडपर्वको समयमा यही भाडा २२ हजार रुपैयाँभन्दा माथि पुग्ने गरेको छ । भाडामा हुने यस्तो उतारचढावले आकस्मिक तथा अत्यावश्यक कामका लागि यात्रा गर्नुपर्ने यात्रुलाई समेत आर्थिक समस्यामा पार्ने गरेको संघको भनाइ छ ।

हवाई भाडा महँगो हुँदा नागरिकको दैनिक जीवनमा मात्रै नभई सुदूरपश्चिमको उद्योग, व्यापार, पर्यटन तथा समग्र आर्थिक गतिविधिमा समेत असर पर्ने संघले जनाएको छ । राजधानीसँगको सहज यातायात सम्पर्क आर्थिक गतिविधि विस्तार, लगानी प्रवर्द्धन र व्यावसायिक आवागमनका लागि महत्त्वपूर्ण हुने भएकाले हवाई सेवालाई सर्वसुलभ बनाउनुपर्ने संघको माग छ ।

काठमाडौं–धनगढी हवाई भाडाको विषय यसअघि पनि पटकपटक सार्वजनिक रूपमा उठ्दै आएको छ । तर, यात्रुको चाप र चाडपर्वको समयमा देखिने महँगो भाडाको समस्या समाधान हुन नसकेको भन्दै संघले सरकारको नियमनकारी भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड दिएको छ ।

कैलाली उद्योग वाणिज्य संघले सुदूरपश्चिमका नागरिक, उद्योगी, व्यवसायी तथा निजी क्षेत्रको समस्यालाई गम्भीरतापूर्वक सम्बोधन गर्न सरकारसँग आग्रह गरेको छ । संघले हवाई भाडामा विशेष सहुलियतको व्यवस्था गर्नुका साथै नियमित, सहज र सर्वसुलभ उडान सुनिश्चित गर्न तत्काल आवश्यक पहल गर्न माग गरेको हो ।