October 29, 2026, Thursday
२०८३ कार्तिक १३

सुदूरपश्चिमका सरकारी अस्पतालमा करार कर्मचारीको गुनासो : काम समान, सुविधा असमान

धनगढी । एउटै अस्पतालमा समान प्रकृतिको काम गर्ने कर्मचारी, तर सेवासुविधा भने फरक। सुदूरपश्चिम प्रदेशका सरकारी अस्पतालमा कार्यक्रम करारअन्तर्गत कार्यरत कर्मचारीहरूले आफूहरूमाथि सेवासुविधामा विभेद भएको गुनासो गरेका छन्।

सङ्घीय सरकारले तोकेको तलब वृद्धि, महँगी भत्ता, चाडपर्व खर्चलगायतका सुविधा नपाएको भन्दै उनीहरूले प्रदेश सरकारसँग माग सम्बोधन गर्न आग्रह गरेका हुन्। जिल्ला तथा प्रादेशिक अस्पतालमा कार्यरत कर्मचारीहरूले समान कामका आधारमा समान सेवासुविधा पाउनुपर्ने माग अघि सारेका छन्।

जिल्ला अस्पताल डोटीमा करार तथा कन्ट्याक्टअन्तर्गत कार्यरत कर्मचारीहरूले तलब वृद्धि, महँगी भत्ता तथा अन्य सेवासुविधा उपलब्ध गराउन माग गर्दै अस्पताल प्रमुखसमक्ष निवेदन दिएका छन्। अघिल्ला वर्षमा पाउँदै आएका सेवासुविधा चालु आर्थिक वर्षमा नपाउँदा आफूहरू समस्यामा परेको उनीहरूको भनाइ छ।

जिल्ला अस्पताल डोटीका फार्मेसी सहायक हर्कराज ओलीले एउटै अस्पतालमा समान प्रकृतिको काम गर्ने कर्मचारीबीच सेवासुविधामा फरक व्यवहार हुनु उचित नभएको बताए। उनका अनुसार स्थायी तथा स्वीकृत दरबन्दीका कर्मचारीले सुविधा पाउँदा कार्यक्रम करारमा कार्यरत कर्मचारी भने त्यस्ता सुविधाबाट वञ्चित छन्।

यस्तै, सेती प्रादेशिक अस्पतालमा कार्यरत करार कर्मचारीहरूले पनि माग सम्बोधनका लागि आन्दोलन गरेका थिए। उनीहरूले असोज २९ गते सामाजिक विकास मन्त्रालय र त्यसको भोलिपल्ट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा धर्ना दिएका थिए। माग सम्बोधन गर्ने आश्वासन पाएपछि आन्दोलन स्थगित गरिएको अस्पतालमा कार्यरत एक स्टाफ नर्सले बताइन्।

उनका अनुसार कर्मचारीहरूले सङ्घीय सरकारले तोकेको १० प्रतिशत तलब वृद्धि, वर्षमा एकपटक पाइने पेस्की तथा अन्य भत्ता उपलब्ध गराउन माग गरेका छन्। प्रदेश सरकारको बजेट आउन ढिलाइ हुनु र माग राखेको दोस्रो दिनदेखि नै दसैँ बिदा सुरु भएकाले समस्या समाधानमा ढिलाइ भएको उनको भनाइ छ।

कर्मचारीहरूका अनुसार समस्या सेती प्रादेशिक अस्पतालमा मात्रै सीमित छैन। जिल्ला अस्पताल बाजुरामा कार्यरत करार कर्मचारीहरूले पनि सेवासुविधामा समानताको माग गर्दै ज्ञापनपत्र बुझाएका छन्। माग सम्बोधन नभए विभिन्न जिल्लाका कर्मचारीलाई एकजुट गरी चरणबद्ध आन्दोलनमा जाने तयारी भइरहेको जिल्ला अस्पताल बाजुराका ल्याब टेक्निसियन प्रकाशराज गिरीले बताए।

सुदूरपश्चिमका विभिन्न सरकारी अस्पतालमा कार्यरत कार्यक्रम करारका कर्मचारीहरूले तलब वृद्धि, महँगी भत्ता, चाडपर्व खर्च तथा अन्य सेवासुविधामा देखिएको विभेद अन्त्य गर्न माग गरेका छन्। समान कामका आधारमा समान सुविधा उपलब्ध गराउनुपर्ने उनीहरूको माग छ।