एनपिएलको महाकुम्भ आजदेखि : वार्नरदेखि रसेलसम्म नेपाली मैदानमा, डिआरएस र आईसीसी मान्यताको नयाँ अध्याय

धनगढी । नेपाली क्रिकेटको महाकुम्भका रूपमा हेरिएको नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करण आजदेखि सुरु हुँदैछ। विश्व क्रिकेटका चर्चित खेलाडीको जमघट, पहिलोपटक अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को आधिकारिक मान्यता र डिसिजन रिभ्यू सिस्टम (डीआरएस)को प्रयोगले यसपटकको एनपिएललाई अघिल्ला दुई संस्करणभन्दा फरक र विशेष बनाएको छ।
त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान, कीर्तिपुरमा आज अपराह्न साढे ४ बजे उद्घाटन खेल हुनेछ। उद्घाटन खेलमा गत संस्करणको फाइनलमा आमनेसामने भएका लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन्।
रोहितकुमार पौडेलको कप्तानीमा रहेको लुम्बिनी गत संस्करणको च्याम्पियन हो। दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम भने लगातार दोस्रोपटक उपविजेता बनेको टोली हो। त्यसैले पहिलो खेलमै हुने यी दुई टोलीको भिडन्तमा गत संस्करणको फाइनलको झल्को मात्रै होइन, लुम्बिनी उपाधि जोगाउने र सुदूरपश्चिम पुरानो हिसाब बराबर गर्ने दाउमा रहनेछ।
वार्नर, रसेल, मिलर र शाकिबको जमघट
तेस्रो संस्करणको सबैभन्दा ठूलो आकर्षण अन्तर्राष्ट्रिय फ्रेन्चाइज क्रिकेटमा आफ्नो प्रभाव जमाएका खेलाडीहरूको सहभागिता हो।
अस्ट्रेलियाका पूर्वओपनर डेभिड वार्नर काठमाडौं गोर्खाजबाट खेल्दैछन्। आईपीएलमा सनराइजर्स हैदराबादलाई सन् २०१६ मा उपाधि दिलाएका वार्नर आईपीएलमा तीनपटक सर्वाधिक रन बनाउने ब्याटरसमेत बनेका थिए। अस्ट्रेलियाले सन् २०१५ र २०२३ मा एकदिवसीय विश्वकप तथा सन् २०२१ मा टी–२० विश्वकप जित्दा उनी टोलीका महत्वपूर्ण सदस्य थिए।
वेस्ट इन्डिजका विस्फोटक अलराउन्डर आन्द्रे रसेल विराटनगर किङ्समा छन्। कोलकाता नाइट राइडर्सबाट आईपीएलमा प्रभावशाली प्रदर्शन गरेका रसेल आफ्नो आक्रामक ब्याटिङ र तीव्र गतिको बलिङका लागि परिचित छन्।
दक्षिण अफ्रिकाका अनुभवी ब्याटर डेभिड मिलर कर्णाली याक्सबाट खेल्नेछन्। दबाबपूर्ण अवस्थामा आक्रामक ब्याटिङ गर्दै खेलको दिशा बदल्न सक्ने क्षमताका मिलरसँगै कर्णालीले पाकिस्तानका टी–२० कप्तान साहिबजादा फरहान र अलराउन्डर हुसेन तलतलाई पनि अनुबन्ध गरेको छ।
बंगलादेशका पूर्वकप्तान तथा विश्व क्रिकेटका अनुभवी अलराउन्डर शाकिब अल हसन पोखरा एभेन्जर्सबाट खेल्दैछन्। यसबाहेक जनकपुर बोल्ट्समा इंग्ल्यान्डका मोइन अली र न्युजिल्यान्डका जिमी निसम, विराटनगरमा श्रीलंकाका पूर्वकप्तान एन्जेलो म्याथ्युज, चितवन राइनोजमा जिम्बाब्वेका सिकन्दर रजा तथा सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका शेरफेन रदरफोर्ड छन्।
यसअघि पहिलो संस्करणमा भारतका शिखर धवन र दोस्रो संस्करणमा दक्षिण अफ्रिकाका फाफ डु प्लेसिसको सहभागिताले एनपिएललाई अन्तर्राष्ट्रिय चर्चामा ल्याएको थियो। तेस्रो संस्करणमा वार्नर, रसेल, मिलर र शाकिबजस्ता खेलाडीको आगमनले त्यो चर्चा थप उचाइमा पुर्याएको छ।
अब एनपिएलका खेल आधिकारिक तथ्यांकमा
तेस्रो संस्करणको अर्को ठूलो उपलब्धि आईसीसीको आधिकारिक मान्यता हो।
आईसीसीबाट मान्यता पाएसँगै यस संस्करणमा खेलाडीले बनाएका रन, लिएका विकेट तथा खेलेका खेल आधिकारिक टी–२० करियर तथ्यांकमा समावेश हुनेछन्। अघिल्ला दुई संस्करणका प्रदर्शन भने आधिकारिक अन्तर्राष्ट्रिय टी–२० तथ्यांकमा गणना भएका थिएनन्।
यसले नेपाली खेलाडीका लागि एनपिएललाई केवल घरेलु फ्रेन्चाइज प्रतियोगिता नभई व्यक्तिगत अन्तर्राष्ट्रिय तथ्यांक निर्माण गर्ने महत्वपूर्ण मञ्च बनाएको छ।
आईसीसी मान्यतासँगै विदेशी खेलाडी अनुबन्धमा पनि थप सहजता आएको छ। प्रत्येक फ्रेन्चाइजले ६ देखि ८ जनासम्म विदेशी खेलाडी राख्न सक्ने भए पनि प्लेइङ–११ मा बढीमा चार विदेशी खेलाडी मात्रै राख्न पाइनेछ। एसोसिएट सदस्य राष्ट्रका कम्तीमा एक खेलाडीलाई प्लेइङ–११ मा समावेश गर्नुपर्ने व्यवस्था पनि गरिएको छ।
पहिलोपटक डीआरएस
एनपिएलको तेस्रो संस्करणमा पहिलोपटक डिसिजन रिभ्यू सिस्टम (डीआरएस) प्रयोग हुँदैछ। यसले मैदानमा हुने निर्णयको विश्वसनीयता बढाउनुका साथै प्रतियोगितालाई अन्तर्राष्ट्रिय फ्रेन्चाइज क्रिकेटको शैलीमा पुर्याउने अपेक्षा गरिएको छ।
एलबी डब्लूको निर्णय पुनरावलोकनका लागि थ्रीडी बल ट्र्याकिङ, ब्याटमा बल लागेको वा नलागेको पत्ता लगाउन एज डिटेक्सन तथा ध्वनि विश्लेषण प्रविधि प्रयोग हुनेछ।
रनआउट, स्टम्पिङ, फ्रन्टफुट नोबल, वाइड तथा छक्काको दूरी र उचाइ मापनमा समेत प्रविधिको प्रयोग हुनेछ। प्रत्येक टोलीले एक इनिङ्समा दुईवटा असफल रिभ्यु लिन पाउने व्यवस्था छ।
क्यानका सचिव पारस खड्काका अनुसार डीआरएस कार्यान्वयनमा करिब डेढदेखि दुई करोड रुपैयाँ खर्च हुने अनुमान छ। उक्त खर्च क्यान र आठवटै फ्रेन्चाइजले साझेदारी गर्नेछन्।
डीआरएसका कारण खेलको अवधि केही बढ्न सक्ने भएकाले खेल तालिकामा समेत परिवर्तन गरिएको छ। डबल हेडरमा पहिलो खेल दिउँसो १२ः३० बजे र दोस्रो खेल साँझ ५ बजे सुरु हुनेछ। एक खेल मात्रै हुने दिन पनि खेल साँझ ५ बजेबाट सुरु हुनेछ।
शोएब अख्तर पनि एनपिएलसँग जोडिँदै
पाकिस्तानका पूर्वतीव्र गतिका बलर शोएब अख्तर पनि यसपटक एनपिएलको आकर्षण बन्नेछन्। उनी खेलाडीका रूपमा भने सहभागी हुने छैनन्।
हिमालय स्पोर्ट्सले सञ्चालन गर्ने ‘रेड बुल क्रिकेट लाइभ’ कार्यक्रममा अख्तर विशेष अतिथिका रूपमा सहभागी हुनेछन्। खेलअघि र खेलपछि हुने कार्यक्रममार्फत नेपाली दर्शकले विश्व क्रिकेटका चर्चित व्यक्तित्वबाट खेल विश्लेषण र अनुभव सुन्न पाउनेछन्।
आठ टोली, चाà


